
काठमाडौं — सिरियामा शनिवार विद्रोहीहरूले अलेप्पोमा सर्वसाधारणमाथि क्लोरिन ग्यास आक्रमण गरेका छन् । त्यसमा नौजनाको मृत्यु भएको छ । अन्य ७३ जना घाइते भएका छन् र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
सिरियाली मिडियाका अनुसार, क्लोरिन ग्यासका कारण अलेप्पोमा मानिसहरूलाई सास फेर्न समेत गाह्रो भएको छ । अलेप्पोको स्वास्थ्य विभागका प्रमुख जियाद हजका अनुसार, प्रारम्भिक जाँचमा सर्वसाधारणमाथि क्लोरिन प्रहार
गरिएको थाहा भएको छ ।
विद्रोहीहरूले प्रयोग गर्ने हतियारमा क्लोरिन ग्यास मिसाइएको हो । मिसाइलमा समेत ग्यास प्रयोग भइरहेको बताइएको छ ।
तर रोगीहरूमाथि अन्य स्वास्थ्य परीक्षण गर्नै बाँकी छ । परीक्षणपछि मात्र आक्रमणकारीहरूले कुन हदसम्म रसायन जम्मा गरेका छन् भन्ने कुरा पत्ता लाग्छ ।
सिरियाली सेनाका एक अधिकारीका अनुसार, सैनिकहरूले विद्रोहीको आक्रमणको कडा जवाफ फर्काएको र बम फ्याँक्ने ठाउँलाई ध्वस्त गरिएको छ ।
सिरियाका विभिन्न संगठनहरूबीच सम्झौताका लागि जुटेको रुसी संस्थान सेन्टर फर सिरियन रिकन्सिलेसनले केही दिनअघि मात्र विद्रोहीहरूले रासायनिक तत्त्वमार्फत कुनै पनि शहरलाई तारो बनाउने आशंका व्यक्त गरेको थियो ।
खासमा रुसको रक्षा विभागले एक जासूसी रिपोर्ट जारी गर्दै विद्रोहीहरूले करीब २० कन्टेनरमा विषालु क्लोरिनमा कब्जा जमाएको जानकारी दिएको छ ।
एजेन्सी