
काठमाडौं — पाकिस्तानको कराचीस्थित चिनियाँ वाणिज्य दूतावासमा शुक्रवार भएको आतंकवादी आक्रमणमा भारतीय जिम्मेवार रहेको आरोप लगाइएको छ ।
उक्त आक्रमणमा तीन आक्रमणकारीसहित कुल सातजना मारिएका थिए । मर्नेमध्ये दुई सर्वसाधारण थिए भने ड्युटीमा रहेका दुई सुरक्षाकर्मी पनि मारिए ।
पृथकतावादी संगठन बलुचिस्तान लिबरेसन आर्मीले घटनाको जिम्मेवारी लिएको छ ।
तर बलुचिस्तानका गृहमन्त्री सलीम खोसाले घटनाका लागि भारतलाई जिम्मेवार ठह¥याएका छन् ।
पत्रकारहरूसँग कुराकानी गर्दै खोसाले आक्रमणका मास्टरमाइन्ड असलम अच्छस भारतमा रहेको बताए ।
अच्छुको मृत्यु भएको खबर पहिले आएको भएपनि त्यो झूटो भएको उनले बताए । उनी भारतमा रहेको एक अस्पतालमा उपचार गराइरहेको पनि खोसाले बताए ।
भारतले बलुचिस्तानमा अस्थिरता मच्चाउने काम गरेको यसबाट प्रस्ट हुने खोसाको आरोप छ ।
आतंकवादी निरोधी संगठनका प्रमुख राजा उमर खत्ताबका अनुसार, दूतावासमा आक्रमणका लागि सी–४ प्लास्टिक विस्फोटक प्रयोग गरिएको थियो र त्यो पाकिस्तानमा भेटिँदैन ।
खत्ताबले उग्रवादीहरूलाई आक्रमण गराउने शक्तिले नै हतियार उपलब्ध गराएको बताए । पाकिस्तानको दुश्मन देशको जासूसी संस्थाले आक्रमण गराएको उनको भनाइ छ ।
बीबीसीबाट