
सुर्खेत–कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आयोगका उपाध्यक्ष पुण्य रेग्मीलाई शपथ गराएका हुन् ।
मुख्यमन्त्री शाहीवाट शपथ ग्रहण गरे लगत्तै उपाध्यक्ष रेग्मीले आयोगका सदस्यहरु डा.दिपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण समारोहमा प्रदेश सरकारका मन्त्रीहरु, सासदहरु, प्रदेश सरकारका सचिव तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो । शपथ ग्रहण पछि संचारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिदै योजना आयोगका उपाध्यक्ष रेग्मीले आफुहरु पञ्चवर्षिय योजना निर्माणमा लाग्ने वताए ।
‘अव तत्कालै कर्णाली प्रदेशको अहिलेको अवस्था देखाउने मानचित्र र समृद्ध कर्णालीको सपनाको मानचित्र तयार गर्छौं ।’ उपाध्यक्ष रेग्मीले भने– ‘दुवै मानचित्रलाई अगाडि राखेर हामी समृद्ध कर्णाली निर्माणको दिशामा तदारुकताका साथ अगाडि वढ्छौं ।’ उपाध्यक्ष रेग्मीले चालु आवको वजेट कार्यान्वयनको अवस्थालाई दृष्टिगत गर्दै आव २०७६÷७७ को एकवर्षिय योजना निर्माणमा पनि आयोग लाग्ने वताए । उनले पुजींगत वजेट खर्च हुन नसक्ने अवस्था रहेको वताउँदै आयोगको क्षेत्राधिकार भित्र रहेर अनुगमनको कामलाई पनि प्रभावकारी रुपमा अगाडि वढाउने प्रतिवद्धता व्यक्त गरे ।
यसै विच योजना आयोगका पदाधिकारीहरुले आजै पदवहाली गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा व्यवस्थापन गरिएको कार्यकक्षमा उपाध्यक्ष डा.पुण्य रेग्मी, सदस्यद्धय डा. दिपेन्द्र रोकाय र योगेन्द्र शाहीले पदवहाली गरेका हुन् । उपाध्यक्ष रेग्मीले पदवहालीसंगै कर्णाली प्रदेशको विकास मोडेल तयार गर्न कर्णाली प्रदेश प्रोफाईल निर्माण गर्ने पहिलो निर्णय गरेका छन् । पदवहालीका लागि पुगेका आयोगका पदाधिकारीहरुलाई प्रदेश योजना आयोगका सदस्य सचिव तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले स्वागत गरेका थिए ।