१४ असार २०८३, आइतबार

महतो संयोजक बनेपछि राजपामा विवाद, ठाकुरपक्षीय नेता भन्छन्, षड्यन्त्र भयो

महतो संयोजक बनेपछि राजपामा विवाद, ठाकुरपक्षीय नेता भन्छन्, षड्यन्त्र भयो

काठमाडौँ– महन्थ ठाकुरलाई अध्यक्षमण्डलको संयोजकबाट हटाइएपछि राजपाभित्र तनावको स्थिति सृजना भएको छ ।

मंसिर ४ गते बसेको राजपा अध्यक्ष मण्डलको बैठकले चक्रीय प्रणालीमार्फत् संयोजक चुनिने निर्णय गर्दै राजेन्द्र महतोलाई संयोजक तोकेको थियो ।

तराई केन्द्रीत विभिन्न ६ वटा पार्टी मिलेर २०७४ सालमा राजपा गठन गरेपछि लेखिएको विधानमै २/२ महिनाको चक्रीय प्रणालीमा नेतृत्व गर्ने व्यवस्था गरिएको थियो । 

अध्यक्षमण्डलका सदस्यहरुले चक्रीय प्रणालीमा नेतृत्व गर्ने विधान उल्लेख भएपनि करिब डेढ वर्ष जेष्ठताको आधारमा महन्थ ठाकुर नै संयोजक रहिरहे ।

उनकै नेतृत्व राजपा तीन तहको चुनावमा होमियो । संघीय संसदमा राजपाका १६ सांसद रहेका छन् । 

अहिले महाधिवेशन नजिकिएसँगै  ठाकुरको संयोजक पद खोसिएको भन्दै उनी निकट नेताहरु रिसाएका छन् ।

‘विधान देखाउँदै संयोजक परिवर्तन गर्नुको पछाडि षड्यन्त्र छ’ ठाकुर निकट एक नेताले बताए ।

नाकाबन्दीको बेलामा चर्को अभिव्यक्ति दिएर चर्चामा आएका राजेन्द्र महतोलाई नयाँ संयोजक तोक्नुले पार्टीभित्र तनावको स्थिति सृजना भएको छ ।

ठाकुरलाई पदबाट हटाएपछि उनी निकट केन्द्रीय नेताहरु एकजुट भएका छन् । आफूहरु अनौपचारिक छलफलमा जुटिरहेको एक नेताले नाम नवताउने शर्तमा बताए । 

एकतापूर्व महन्थ ठाकुर अध्यक्ष रहेको तमलोपाको कार्यालय बिजुलीबजारमा भोलि (सोमबार) बैठक बस्ने तयारी भइरहेको छ ।

राजपामा स्थापना कालदेखि नै दुई शक्तिशाली गुट थिए । ति मध्ये एउटा गुटको नेतृत्व राजेन्द्र महतोले गर्दै आइरहेका थिए भने अर्को महन्थले ।

महतोको गुट तुलनात्मक रूपमा शक्तिशाली मानिन्छ । महतो नेतृत्वको गुटले संयोजक रहेको समयमा ठाकुरले आफू निकट नेता र नातागोतालाई लाभको पदमा नियुक्ति र मनोनयन गरेको आरोप लगाउँने गरेको थियो । 

नयाँ संयोजक बनेका महतोले आफूले सबैलाई मिलाएर लैजाने बताउँछन् । राजपा नेपाललाई शक्तिशाली र अनुशासित बनाउन आफू केन्द्रीत हुने उनको भनाइ छ । ‘अबको राजपा नेपाल अझ सशक्त, सक्रिय, पारदर्शी र अनुशासित ढंगले अगाडी बढाउने कुरामा म लागिपर्ने छु । त्यसका लागि सबैसँगको सहकार्य समदुरीको हिसाबले निरन्तर हुनेछ ’ महतो भन्छन् ।

महतो भन्छन् , मेरो अबको मुख्य काम भनेको आगामी महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने नै हो । त्यसका लागि मैले पार्टीको तर्फबाट गर्नु पर्ने काम अत्यन्तै जिम्मेवारीपूर्वक गर्नु नै हो ।’

राजपाका नेता अनिल कुमार झाले दुई पक्षबीचको विवाद समाधान गर्नको लागि सोमवार दिउँसो राजपाले अध्यक्षमण्डलको बैठक बोलाएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्