लिस्बन– विश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमल्य च्याउ ९ह्वाइट ट्रफल० युरोपेली मुलूक पोर्चुगलमा सार्वजनिक गरिएको छ ।
चर्चित इटालीयन सेफ टङ्क सापकोटाले इटालीबाट खरीद गरी पोर्चुगल ल्याएको उक्त प्रजातिको ट्रफल च्याउ शुक्रबार राजधानी लिस्बनमा विशेष पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेका हुन् ।
पोर्चुगलका राष्ट्रिय सञ्चार माध्यममा कार्यरत तीन दर्जन बढी पत्रकारको विशेष उपस्थितिमा सापकोटाले च्याउको सार्वजनिक गर्दै उक्त च्याउ पाँच वर्षयताकै विश्वमै सबैभन्दा ठूलो भएको दावी गरे ।
सो अवसरमा सापकोटाले च्याउको प्रकृति, स्वाद, विश्व बजारमा यसको महत्व लगायतको विषयमा जानकारी दिएका थिए । सो च्याउको तौल एक किलो १५३ ग्राम रहेको छ । विश्वमै इटाली र क्रोएसियामा मात्र पाइने उक्त प्रजातिको ह्वाइट ट्रफल च्याउ विश्व बजारमा लाखौँ मूल्यमा खरीद बिक्री हुने गर्दछ । विश्व बजारमा अत्यधिक मूल्य पर्ने भएकाले यसलाई ‘ह्वाइट डायमण्ड्य’ भनेर पनि चिनिन्छ ।
खरीद मूल्य सार्वजनिक नगरिएको भएपनि तौल र यसको बजार मूल्यका आधारमा सर्वाधिक महङ्गो मूल्यको ठूलो च्याउ पोर्चुगल भित्र्याउने सापकोटा अहिलेसम्मकै दोश्रो व्यक्ति बनेका छन् । यसअघि सन् २०१६ मा एक पोर्चुगिज नागरिकले ६१८ ग्रामको ट्रफल च्याउ ३० हजार युरो अर्थात् करीब रु ३८ लाख नेपालीमा पहिलोपटक पोर्चुगल भित्र्याएका थिए ।
गत साता मात्रै इटालीमा भएको लिलाम बिक्रीमा ८८० ग्रामको सोही प्रजातिको च्याउ हङ्कङका एक नागरिकले ८५ हजार युरो अर्थात् करीब रु एक करोड १० लाख नेपालीमा खरीद गरि हङ्कङ लगेका थिए । सो प्रजातिको च्याउ इटालीमा हरेक वर्ष नोभेम्बर ११ मा लिलाम बिक्री हुने गर्दछ ।