
काठमाडौं — विमानको ककपिटमै पाइलट सुतेपछि अस्ट्रेलियाको एक गन्तव्यमा पुग्नुपर्ने विमान त्यहाँबाट ५० किलोमिटर पर पुगेको छ ।
डेभोनपोर्टबाट तास्मानियास्थित किङ आइल्यान्ड गएको मालवाहक विमानमा ती पाइलट मात्र एक व्यक्ति थिए । घटना नोभेम्बर ८ मा भएको हो ।
घटनाको अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्युरोले (एटीएसबी) अनुसन्धान गरिरहेको छ ।
विमानलाई सुरक्षित अवतरण गराउनका लागि विमानचालक कसरी उठे भन्ने विषयमा अधिकारीले केही बताएका छैनन् ।
पाइपर पीए–३१ विमानलाई भोर्टेक्स एयरले चलाउँछ ।
‘उडानका क्रममा पाइलट निदाए जसले गर्दा विमान किङ आइल्यान्डभन्दा ४६ किलोमिटर पर पुग्यो,’ एटीएसबीले छोटो वक्तव्य जारी गर्दै भन्यो ।
उड्डयनविज्ञ नील हान्सफोर्डले विमानचालकको थकानका विषयमा कडा नियमहरू रहेको बताए ।
‘थाकेका कुनै पनि व्यक्तिले विमान चलाउनुहुँदैन,’ उनले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनलाई बताए ।
एटीएसबीले पाइलटसँग सोधपुछ गरिने र सञ्चालन प्रक्रियाको समीक्षा गर्ने अनि अर्को वर्ष प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दियो ।
बीबीसीबाट