२९ जेठ २०८३, शुक्रबार

एल्बमले नदिएको पैसा ‘स्टेज’बाट, गायक गायिकाको कमाइ महिनामा लाखौं

मंसिर १२, २०७५
एल्बमले नदिएको पैसा ‘स्टेज’बाट, गायक गायिकाको कमाइ महिनामा लाखौं

काठमाडौं–नेपालीहरुको ठूला चार्ड दशैंतिहार सकिएसंगै देशका विभिन्न जिल्लाहरुमा ब्यापार एवं पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले मेला–महोत्सवको लहर शुरु भएको छ । 

कृषि, व्यापार, व्यवसाय र पर्यटन प्रवद्र्धनका नारा दिएर गरिने महोत्सवमा मुख्य आकर्षणमा हुन्छन् चलेका गायक/गायिका । दर्शक कलाकार खोज्छन् भने आयोजक पनि दिनहुँ नयाँनयाँ कलाकार लैजान्छन् । यसवर्ष पनि देशको मौसम चिस्सिएसंगै चलेका गायक/गायिकाका लागि माहोल तात्दो छ । कलाकार नभए सफल नमानिने त्यस्ता मेला महोत्सवमा अधिकाँश चलेका आधुनिक, पपदेखि लोकदोहोरी गायक–गायिकाहरू ब्यस्त बनिरहेका छन् । चलेका कोही कलाकार विदेशमै ब्यस्त छन् । नेपालमा रहेकाहरु अधिकाँश राजधानी बाहिर मेला महोत्सवमा छन् । उनीहरुको यो व्यस्तताले फागुन/चैतसम्मै निरन्तरता पाउँछ । 

लोकदोहोरी गायक पशुपति शर्मा यतिबेला अष्ट्रेलियामा छन् । आउँदो १६ गते नेपाल फर्किने उनि त्यसलगत्तै मेला महोत्सबमै ब्यस्त बन्नेछन् । 

लोकदोहोरी गायक खुमन अधिकारी यतिबेला सल्यानमा छन् । एक साताअघि राजधानी छाडेका खुमन नवलपरासी, वागलुङ, कपिलवस्तु चन्द्रौटा जिल्लामा आयोजना भएका मेलामा प्रस्तुति सकेर मंगलबार सल्यान पुगेका हुन् । तिहारपश्चात मात्रै उनी झण्डै एक दर्जन बढी महोत्सवमा पुगेर गीत गाईसकेका छन् । बुधबार काठमाडौं फर्किने उनी मेला महोत्सव कलाकारहरुका लागि एउटा अवसर भएको बताउँछन् । ‘पहिलो कुरा त हामी स्रोता तथा दर्शकसामु प्रत्यक्ष पुग्न पाउँछौं,’ उनी भन्छन् –‘अर्को कलाकारहरुको आर्थिक आम्दानी पनि राम्रो हुन्छ ।’ 

अहिले चलेकी गायिका प्रिती आले पनि यतिबेला महोत्सवमा पुग्न व्यस्त छिन् । ‘सोमबार नवलपरासी बर्दघाट मेलामा पुगेँ, मंगलबार कपिलवस्तु चन्द्रौटा मेलामा पुगे भने आज (बुधबार) रुपन्देही तिलोत्तमा मेलामा हुनेछु,’ प्रितीले लोकान्तरसंग भनिन् । तिहारयता उनी धादिङ, गोर्खा, चितवन, गुल्मी, सुर्खेत लगायत दर्जन बढी जिल्लामा पुगिसकिन् । उनको यो व्यस्तता फागुनसम्म नै निरन्तर रहन्छ । भन्छिन् –‘काठमाडौं बसाई महिनामा ५/७ दिनमात्रै हो ।’ 

लोकदोहोरी गायिका राधिका हमालको भागमा पनि यो वर्ष मेला महोत्सवका थुप्रै कार्यक्रम परेका छन् । अहिले काठमाडौंमै रहेकी उनले थुप्रै महोत्सवमा पुगेर प्रस्तुती दिइसकेकी छिन् भने आउँदा दिनको महोत्सवको तालिका पनि लामै छ । 

त्यस्तै गायिका पूर्णकला बिसी अहिले राजधानीबाहिर छिन् । रुकुम, रुपन्देही, वागलुङ लगायतका जिल्ला हुन पूर्णकलाले मंगलबार सल्यानमा आयोजना भएको महोत्सवमा आफ्नो प्रस्तुती दिईन् । 

आधुनिक गायक कमल खत्री मेला महोत्सवको दौपधुपले बिरामी नै परको बताउँछन् । ‘दशैं तिहारमा कन्सर्टमा ब्यस्त बने, तिहारयता मेला महोत्सवमा’ हाल काठमाडौंमै रहेका उनले भने, –‘नियमित कार्यक्रमले बिरामी नै परेँ, आइतबारदेखि मंगलबारसम्म रेष्ट गरेँ ।’ खत्री बुधबार भने कपिलवस्तुको चन्द्रौटा महोत्सवमा पुग्दैछन् । 

लोकदोहोरी गायक नविन पौडलको दौडधुप पनि अहिले ज्यादा छ । गुल्मी, कञ्चनपुर, वाग्लुङ, उदयपुर, कपिलवस्तु लगायतका जिल्लामा भएको महोत्सवमा प्रस्तुती सकेर मंगलबार बाराको सिमरा महोत्सवमा आफ्नो प्रस्तुती दिए । नबिन भन्छन्, ‘अबको चार महिना काठमाडौं बसाई निकै कम हुन्छ ।’ 

हाल काठमाडौंमै रहेका लोकदोहोरी गायक कुलेन्द्र बिक पनि लगत्तै मेला/महोत्सवमा व्यस्त बन्दैछन् । यस्तै लोकदोहोरी गायिका रमिला न्यौपाने पनि अधिकांश समय स्वदेश र विदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा व्यस्त हुने गरेकी छिन् । गायक अर्जुन कौशल पनि अहिले कार्यक्रमको शिलशिलामा काठमाडौं बाहिर छन् ।

अहिले एल्बमबाट आम्दानी शून्य छ । यूट्यूबबाटको आम्दानी पनि गायक/गायिकाका लागि प्रयाप्त छैन् । त्यसैले पनि गायक÷गायिकाहरु स्टेज कार्यक्रममा फोकस हुन्छन् । अहिले गायक÷गायिकाका लागि बाँच्ने आधार नै स्टेज मानिन्छ ।

चलेका गायक/गायिकाहरु मेला महोत्सबबाट ३५ हजारदेखि ६० हजार रुपैयाँसम्म लिने गरेको बताउँछन् । यसरी हेर्दा केही महिना दैनिक जसो व्यस्त हरने गायक÷गायिकाहरुको कमाइ राम्रो रहने छ । महिनामा २० वटासम्म कार्यक्रममा व्यस्त रहने गायक/गायिका मंसिर, पुस, माघ र फागुनमा महिनामै ५ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

पछिल्लो समय गीतका एल्बमहरुबाट गायक गायिकाको कमाइ घटिरहेपनि स्वदेश तथा विदेशमा हुने यस्ता कार्यक्रमका कारण गायक गायिकाको कमाइ महिनामा लाखौं हुने गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्