काठमाडौं, २० फागुन — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका बुवालाई ९० वर्षअघि गोरा जातिवादी संगठन क्लु क्लक्स क्लानले गरेको दंगाका दौरान पक्राउ गरिएको संकेत भेटिएका छन् ।

द न्युयोर्क टाइम्सको सन् १९२७ को जुन महिनाको संस्करणमा न्युयोर्कमा भएको एक झगडामा सातजना मानिसलाई प्रहरीले पक्रेको खबर छ । त्यसमा एक नाम फ्रेड ट्रम्पको पनि थियो र उनको ठेगाना १७५–२४ डेभोनशायर रोड, जमैका थियो र ट्रम्पका बुवाको परिचयसँग त्यो मिल्न आउँछ ।
गोरा जातिवादी क्लान र इटालीको फासीवादी समूहका समर्थकबीच झगडा भएको थियो ।
‘क्लानले प्रहरीहरूमाथि आक्रमण ग–यो’ शीर्षकमा छापिएको समाचार पहिलोचोटि बोइङबोइङ ब्लगमा खुलासा गरेको थियो । हजारजना क्लान सदस्य र सयजना प्रहरीका बीच भएको लडाईंका दौरान ट्रम्प पनि केही क्षणका लागि पक्राउ परेका थिए ।
पछि उनलाई कुनै पनि अभियोग नलगाइकन रिहा गरिएको थियो ।
ट्रम्पले झगडाका दौरान के भूमिका निर्वाह गरेका हुन्, प्रस्ट भएन । केही रिपोर्टहरूमा चाहिँ उनले भीडबाट अन्तै जान नमानेपछि पक्राउ परेको उल्लेख छ ।
त्यतिखेर ट्रम्पका पिता २१ व्र्षका थिए । पछि गएर उनी न्युयोर्कमा घरहरू बनाउन थालेर अरबपति भए ।
डोनाल्ड ट्रम्पले भने आफ्नो पिता गोरा अतिवादी संगठनमा कहिल्यै पनि संलग्न नरहेको बताएका छन् ।
दी इन्डिपेन्डेन्टबाट