११ साउन २०८३, सोमबार

वंशजलाई प्रष्ट परिभाषित गर्न सांसदको माग, बाबु मात्र वा आमा पनि ?

मंसिर १४, २०७५
वंशजलाई प्रष्ट परिभाषित गर्न सांसदको माग, बाबु मात्र वा आमा पनि ?

काठमाडौं – प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था समितिको शुक्रवारको बैठकमा सांसदहरूले नागरिकताका सम्बन्धमा वंशजको प्रष्ट परिभाषा गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ता सांसदहरूले वंशज भनेको बाबु मात्र हो वा आमा पनि हो भन्ने विषयमा कानून बनाउन प्रष्ट हुनुपर्नेमा जोड दिए ।

संशोधनकर्ता सांसद बिन्दा पाण्डेले नागरिकतामा वंशज विषयमा प्रष्ट हुनुपर्ने बताइन् । ‘वंशजका आधारमा नागरिकता भनिएको छ, वंशज भनेको बाबु मात्रै हो वा आमा पनि हो, यसको परिभाषा स्पष्ट गर्नुपर्यो ।’

नागरिकतासम्बन्धी नीति संविधानसँग बाँझिएको हुनाले संशोधन गर्न जरुरी भएको र अनाथ बालबालिकाका लागि जसले संरक्षण गरेको हुन्छ उसैले नागरिकता दिने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । 

संशोधनकर्ता सांसद पवित्रा निरौला खरेलले वंशजको आधारमा नागरिकता दिने भनेर बाबुलाई प्राथमिकता दिने गरेको हुँदा आमालाई पनि त्यस्तो अधिकार दिने खालको कानून बनाउनुपर्ने बताइन् । सांसद मीना पाण्डेले वंशजका आधारमा नागरिकता दिँदा बाबुको पहिचान खुल्न नसकेको भन्ने शब्द हटाउनुपर्ने सुझाव दिइन् ।

सांसद यशोदा गुरुङ सुवेदीले नागरिकताबाट विभेदकारी नीति हटाउनुपर्ने र वंशजको आधार भनेपछि बाबु र आमा दुवै हुनुपर्ने धारणा राखिन् ।

समितिका सभापति शशि श्रेष्ठले दफाबार छलफल गरेर सो विधेयकलाई निष्कर्षमा पुर्याइने जानकारी दिइन् । ३ दिनदेखि समितिमा नागरिकता ऐन संशोधन गर्ने विषयमा छलफल भइरहेको छ । संशोधनका लागि ५५ सांसदले १ सय २ संशोधन हालेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्