काठमाडौं, २० फागुन — नेकपा एमालेले तराईमा मेची–महाकाली अभियान शुरु गर्ने तयारी गर्दैगर्दा तराईका जिल्लामा एमाले नेता कार्यकर्तामाथि आक्रमणका घटना बढेका छन् ।
सप्तरीमा एमाले जिल्ला सदस्य प्रतापनारायण चौधरीमाथि मधेसी मोर्चाका कार्यकर्ताले कालोमोसो दलेको केही बेरमै एमाले सांसद रञ्जु कुमारी झा चढेको गाडीमाथि आक्रमण भएको छ ।
राजबिराजको मदनगरमा मधेसी मोर्चाका कार्यकर्ताले एमाले सांसदको गाडीमा ढुङ्गा हानेका हुन् । संसद्को महिला बालबालिका तथा समाजकल्याण समितिकी सभापति समेत रहेकी झामाथि पार्टी कार्यालयमा जाने क्रममा गाडीमा मोर्चा कार्यकर्ताले ढुङ्गा हानेका हुन् ।
‘पार्टी कार्यालय जानेक्रममा मेरो गाडीमा ढुङ्गा हानियो,’ एमाले पार्टी कार्यालय सिराहामा रहेकी सांसद झाले लोकान्तरसँग भनिन्, ‘कुनै क्षति भएको छैन ।’ सांसद झा संसदीय समितिका सभापतिले चढ्ने गाडीमा थिइन् ।
एमालेले तराई मधेसमा जागरण ल्याउन तथा संविधानमा रहेको भ्रम हटाउन अभियान शनिवारदेखि मेची–महाकाली अभियान शुरु गर्दैछ ।
तस्वीरः मधेस लाइभ डटकमबाट