
जनकपुरधाम – रामजानकी विवाह पञ्चमीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएपछि भव्य तयारी भइरहेको छ ।
जनकपुरधाममा भइरहेको तयारी सँगसँगै योगीको आसन्न भ्रमणले राजनीति समेत तातेको छ ।
योगीको भ्रमणको पक्ष–विपक्षमा चर्चा भइरहेको छ । अधिकांशको एउटै प्रश्न छ – मुख्यमन्त्री योगीलाई विवाह पञ्चमीमा सहभागी हुन कसले निमन्त्रणा दियो ?
विवाह पञ्चमीमा सहभागी हुन योगीलाई संघ, प्रदेश वा स्थानीय तह कसैले पनि औपचारिक निमन्त्रणा दिएको सार्वजनिक भएको छैन । तर पनि योगी मंसिर २६ गते जनकपुरधाम आउने छन् । राम जन्मभूमि अयोध्याबाट आउने औपचारिक जन्तीसहित योगी जनकपुर आउन लागेका होइनन् । उनी आफ्नो टोलीसहित विवाह पञ्चमीमा सहभागी हुने छन् । यस वर्ष अयोध्याबाट औपचारिक जन्ती जनकपुर आउने छैन ।
किन आउँदैनन् यसपालि अयोध्याबाट जन्ती ?
जनकपुरधाममा विवाहपञ्चमी कार्यक्रम हरेक वर्ष हुने गरेको छ । भगवान् राम र सीता (जानकी) बीच विवाह भएको सम्झनामा हरेक वर्ष विवाहपञ्चमी भव्यताका साथ मनाइन्छ । तर हरेक वर्ष अयोध्याबाट जन्ती आउँदैनन् ।
अयोध्याबाट हरेक ५–५ वर्षमा जन्ती आउने गरेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । अयोध्याबाट जन्ती आउनुअघि जानकी मन्दिरबाट औपचारिक निमन्त्रणा दिने चलन रहेको छ । यसपालि जन्ती नआउने भएपछि जनकपुरधामबाट निमन्त्रणा पनि पठाइएको छैन ।
मिथिला सभ्यतामा बेहुला खोज्न बेहुली पक्षका मानिस ‘घटक’ बनेर जान्छन् । कुरा तय भएपछि बिहेको लागि बेहुला पक्षलाई आमन्त्रण गर्न ‘हजाम’ पठाइन्छ । कपाल काट्ने पेशामा सक्रिय रहेका हजामलाई विवाहको महत्त्वपूर्ण जिम्मेवारी दिने गरिएको छ ।
अयोध्या र जनकपुरबीच ५–५ वर्षमा निमन्त्रणा पठाउने सहमति भएको थियो । त्यसैअनुसार प्रत्येक ५ वर्षमा जनकपुरधामबाट हजामलाई पठाएर जन्ती साथ आउन आमन्त्रण गर्ने गरिएको छ । ५–५ वर्षमा जन्ती आउने परम्परा विकसित हुँदै गएको छ ।
अयोध्याको जन्ती बिनै कसरी मनाइन्छ विवाहपञ्चमी ?
अयोध्याबाट जन्ती नआउने वर्षमा पनि विवाहपञ्चमी मनाइने गरेको छ । कसरी ? जनकपुरकै राम मन्दिरले अयोध्याको भूमिका र जानकी मन्दिरले जनकपुरको भूमिका निर्वाह गर्ने गरेको छ ।
जानकी मन्दिर नजिकै राम मन्दिर समेत स्थापना गरिएको छ । राम मन्दिरबाट जन्तीहरू जानकी मन्दिरमा गएर विवाह पञ्चमीलाई मनाउने गरेका छन् । अयोध्याबाट जन्ती नआउने जनकपुरधामकै स्थानीयले राम र जानकी दुवै पक्षको भूमिका निर्वाह गर्छन् ।
अयोध्याबाट यसअघि २०७० सालमा औपचारिक जन्ती आएको थियो । त्यतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जन्ती बनाउने आउने चर्चा चलेको थियो । तर पछि मोदी आउने कार्यक्रम स्थगित भयो ।
जन्ती आएको ५ वर्ष पुगेकाले यस वर्ष नै अयोध्याबाट जन्ती आउनुपर्ने हो । तर जन्तीको नेतृत्व गर्ने विश्व हिन्दू परिषद्ले यसपालि जन्ती ल्याएर आउन नसकिने र अर्काे वर्ष आउने खबर पठाएको जनाइएको छ ।
योगीको भ्रमण धार्मिक कि राजनीतिक ?
अयोध्याबाट जन्ती नआउने भएपनि मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएपछि स्वागतको भव्य तयारी भइरहेको छ । तर धार्मिक र पूजापाठको पक्षमा भने जनकपुरकै राम मन्दिरले नेतृत्व लिनेछ ।
विवाह पञ्चमीमा सहभागी हुन अयोध्याबाट औपचारिक रुपमा आउने जन्तीलाई जसरी योगीलाई जिम्मेवारी हुने छैन । तर भव्य स्वागत चाहिँ गरिने छ । योगीको भ्रमण दर्शनार्थीको रुपमा रहने छ ।
मंसिर २६ गते रामजानकी विवाहपञ्चमी महोत्सवका दिन भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउन लागेको भारतका राजदूत मञ्जिभसिंह पुरीले जानकारी दिएको मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए । ‘यस वर्ष हामीले जन्ती ल्याउनका लागि औपचारिक निमन्त्रणा भने पठाएका छैनौं,’ उनले भने ।
मुख्यमन्त्री योगी हेलिकप्टरमार्फत् आउने र तयारीका लागि भारत सरकारले जानकी मन्दिरलाई ५० लाख रुपैयाँको आर्थिक सहयोग समेत गर्न तयार रहेको कुरा राजदूत पूरीले बताएका थिए । तर स्वागत गर्न तयार रहेको बताउँदै रकम नचाहिने जवाफ दिइएको महन्थ वैष्णवले बताए ।
‘विवाह पञ्चमीका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ छुट्याएको छ भनेर सुन्दै छु । तर हामीले लिएका छैनौं । प्रदेश सरकारले कहाँ कसरी खर्च गरिरहेको छ त्यसबारे कुनै पनि जानकारी छैन,’ उनले भने ।
विवाह पञ्चमीको प्रचलन
पञ्चायती व्यवस्थासम्म जनकपुरधाममा देखिने रामजानकी विवाह पञ्चमीको भव्यता अहिलेभन्दा बढी हुने गर्थ्यो । धार्मिक कार्यमा १ दिवसीय वैवाहिक कार्यक्रम मात्रै आयोजना हुने गरेको भएपनि मेला भने १ महिनासम्म लाग्ने गर्थ्यो ।
विवाहपञ्चमी शुरू हुनुभन्दा १ महिना पहिलेदेखि नै भारत र नेपालका तीर्थालु जनकपुर आउने गर्थे । जनकपुरधाममा अहिलेजस्तो घना बस्ती थिएन । ठाउँठाउँमा पहिले ऐतिहासिक ‘गाछी’ हुने गर्थ्यो । त्यही गाछी र कुटीमा साधुसन्त, तीर्थालु बाँस बस्ने गर्थे । भारतको हरियाणा र पन्जावका व्यापारी जनकपुर विमानस्थलदेखि क्याम्पस चोकसम्म कपडाको पसल थाप्ने गर्थे ।
जनकपुर उपमहानगरपालिकाको कार्यालय रहेको ठाउँमा ‘पहाडिया गाछी’ हुने गर्थ्यो । जसमा सिन्धुली, रामेछाप, दोलखाका व्यापारी खुर्सानी, धनियाँ, पतरक बेच्ने गर्थे ।
पुरानो मेला स्मरण गर्दै जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले भने, ‘अहिलेको पगला बाबा धर्मशाला भएको ठाउँमा ‘साधु गाछी’ हुन्थ्यो । जसमा भारतको उत्तर प्रदेश लगायत अन्य राज्यबाट आउने साधुसन्त बस्ने गर्थे ।’ तिरहुतिया गाछीमा बिहार र तिरहुतका तीर्थालु बास बस्ने गर्थे । ती गाछीमा बस्ने गरेका तीर्थालुदेखि साधुसन्त पोखरीको पानी लिएर खाना पकाउने गर्थे ।
अहिलेको प्रहरी कार्यालय, जिल्ला र उच्च अदालत रहेको ठाउँमा थिएटर, भजनकीर्तन, नाटक, रामलिलाजस्ता सांस्कृतिक कार्यक्रम हुने गरेको महन्थ वैष्णवले स्मरण गरे । ‘विक्रम सम्वत् २०२३ सालमा आफू जानकी मन्दिर आउँदा विवाहपञ्चमी मेला राम्रो हुन्थ्यो,’ उनले सम्झिए, ‘मान्छेको यतिसम्म भीड हुन्थ्यो कि जानकी मन्दिरमा त के पूरै जनकपुरमा खुट्टा समेत राख्न सक्ने ठाउँ हुँदैन्थ्यो ।’ भारतको सोनपुर मेला सकिएपछि मेला नै उठेर विवाह पञ्चमीका लागि जनकपुरधाम आउने गरेका उनले बताए ।
‘त्यो अवस्था २०३५ सालसम्म थियो । तर नेपालमा २०३६ सालदेखि आन्दोलन हुन थालेपछि यहाँको मेला समाप्त भयो,’ महन्थ वैष्णवले भने, ‘त्यसपछि भारतको सोनपुरको मेला उठेर भारतकै सीतामढी पुग्यो ।
नकपुरधामको मेला उजाड भयो ।’ १ महिना लाग्ने मेला उठेपछि जनकपुरको विवाह पञ्चमीको रौनक नै हराएको उनले बताए । कार्यक्रम १ दिने वैवाहिक औपचारिकतामा मात्र सीमित हुन पुग्यो ।
राम मन्दिर र जानकी मन्दिरबाट उठ्ने भगवानको डोला रंगभूमि मैदान बाह्रबिघामा पुगेर स्वयम्बर गर्ने र जानकी मन्दिरमा फर्किएर कार्यक्रम सकिने गरेको उनले सम्झिए ।

विवाह पञ्चमीको पहल
मेला नै उजाड भएपछि महन्थ रामतपेश्वर दास वैष्णवले रामजानकी विवाह पञ्चमीलाई भव्यता दिन पहलकदमी लिए । विक्रम सम्वत् २०५३ सालमा उनी भारतको हरिद्वारस्थित दुधाधारी बाबाको मठमा पुगे । त्यहाँ उनले विश्व हिन्दू परिषद्का अध्यक्ष अशोक सिंघलसँग भेट गरे ।
‘रामजानकी विवाहपञ्चमी महोत्सवको मेला उठिसक्यो । अब फेरि भव्यता दिनका लागि तपाईले आफ्नो नेतृत्वमा जन्ती लिएर जनकपुरधाम आउनुपर्छ भनेर सिंघललाई आग्रह गरे,’ महन्थ वैष्णवले सम्झिए । महन्थको आग्रह बमोजिम राजा दशरथ अयोध्याबाट जन्ती लिएर जनकपुरधाम आएजस्तै गरेर विभिन्न स्थानमा बास बस्दै जनकपुरधाम जन्ती लिएर आउन सिंघल तयार भए । ‘जन्ती आउँदा विभिन्न स्थानमा बास बस्दा लाग्ने खर्चदेखि सवारीसाधन समेतको भाडा दिने समेत भनेका थियौं,’ उनले भने । त्यसपछि जनकपुरधाममा ७ दिवसीय दिवसीय वैवाहिक कार्यक्रम तय गर्ने निर्णय भयो ।
जनकपुर नगर दर्शन, फुलबारी लीला, धनुष यज्ञ, तीलकोत्सव, मटिकोर, स्वयम्बर र शुभविवाह, रामकलेबा लगायत ७ दिने कार्यक्रम आयोजन गरिन्छ । अशोक सिंघलले आफ्नै नेतृत्वमा भारतको अयोध्याबाट २०६१ सालमा जन्ती ल्याए । १ हजार साधुसन्तको जन्तीलाई लिएर उनी जनकपुरधाम आएका थिए । जसमध्ये करीब ६ सय जन्ती ५ दिनसम्म जनकपुरमा बसेका थिए । जन्ती भारतको अयोध्या, बक्सर, काशी बनारस, पटना, दरभंगा, सीतामढी हुँदै नेपालको मटिहानीसम्म आएका थिए ।
जन्ती महोत्तरीको मटिहानी पुगेपछि जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अगुवाइमा गएको साधुसन्तको टोलीले बैण्डबाजा र रथसहित स्वागत गर्दै जनकपुरधाम ल्याएका थिए ।
जन्तीलाई जनकपुरको यात्री निवास र पगला बाबा धर्मशालामा बासको व्यवस्था मिलाइयो । सम्पूर्ण जन्तीलाई ‘मिथिला भोजन’ खुवाउने गरिन्थ्यो । खाना खाने बेला बस्नको लागि काठको पिँढी दिइएको थियो भने खाना खान काठकै सानो ‘चौकी’ प्रत्येक जन्तीलाई दिइएको महन्थ रामतपेश्वर दास वैष्णव सम्झन्छन् । जन्तीलाई केराको पातमा खाना खुवाइएको थियो ।
‘जन्तीहरूको संख्या हामीलाई पहिलेदेखि नै प्राप्त भएकाले जन्तीलाई खाना खुवाउने बेलामा मैथिलानीले माइकमै गीत गाउँदै गाली गर्थे । जन्तीलाई मिथिलामा खाना खुवाउने बेला गीति भाकामा गाली गरेर हाँस्य विनोद गर्ने परम्परा नै रहेको छ । गाली खाँदै खाना खाने जन्तीलाई पनि रमाइलो लाग्ने गर्छ,’ उनले भने ।
जन्तीलाई जनकपुरधाममा स्वागत गर्न तत्कालीन राजा ज्ञानेन्द्र शाह जनकपुरधाम पुगेका थिए । राजाले सबै जन्तीलाई फूलको माला लगाइदिएका थिए भने सल ओढाएर जन्तीलाई सम्मान गरेका थिए । भारतका विभिन्न मठका महन्थमध्ये कोही राजा दशरथ, विश्वामित्र, वशिष्ठ लगायतका भूमिकामा जन्ती आएको थियो ।
विवाह पञ्चमीका दिन वैवाहिक महोत्सव सम्पन्न भएको भोलिपल्ट रामकलेबा मनाइयो । सबै जन्तीलाई ‘५ टुक बस्त्र’ दिएर बिदाइ गरिएको थियो । ‘जन्तीलाई भारतीय सीमा रक्सौलसम्म पुर्याइदिएका थियौं,’ महन्थ वैष्णवले सम्झिए ।