११ असार २०८३, बिहीबार

स्थायी कर्मचारीको विवरण पठाउन मन्त्रालयको निर्देशन, नियमविपरीत १६ जिल्लामा कामु सीडीओ

मंसिर १६, २०७५
स्थायी कर्मचारीको विवरण पठाउन मन्त्रालयको निर्देशन, नियमविपरीत १६ जिल्लामा कामु सीडीओ

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबारसम्म २७ जिल्ला समन्वय समितिलाई स्थायी कर्मचारीको संख्या विवरण पठाउन निर्देशन दिएको छ । कर्मचारी समायोजनका लागि सबै जिल्ला समन्वय समितिले स्थायी कर्मचारीको विवरण पठाए पनि उक्त जिल्लाले विवरण नपठाएपछि आइतबारसम्म पठाउन निर्देशन दिइएको मन्त्रालयका स्थानीय तह समन्वय शाखाका अधिकृत जनकराज शर्माले जानकारी दिए ।

मन्त्रालयले सबै समन्वय समितिबाट विवरण सङ्कलन गरेर कर्मचारी समायोजन गर्ने जनाएको छ । पटकपटक विवरण पठाउन निर्देशन दिए पनि नटेरेपछि आइतबारसम्म विवरण पठाउन भनिएको उनले जानकारी दिए । 

ताप्लेजुङ, धनकुटा, खोटाङ, सप्तरी, धनुषा, महोत्तरी, पर्सा, रामेछाप, काभ्रेलाञ्चोक, सिन्धुपाञ्चोक, रसुवा, लमजुङ, कास्की, पर्वत, पूर्व नवलपरासी, पश्चिम नवलपरासी, पाल्पा, पूर्वी रुकुम, प्यूठान, बाँके, डोल्पा, मुगु, सुर्खेत, बाजुरा, बझाङ र बैतडी जिल्लाका समन्वय समितिलाई विवरण पठाउन भनिएको छ । 

कांग्रेसको विधान संशोधनको माग
नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय भेलाले पार्टीको विधान संशोधनको माग गरेका छन् । कोषाध्यक्षहरूको राष्ट्रिय समितिका अध्यक्ष गोविन्द पुडासैनीले शनिबार धादिङबेँसीमा पत्रकार सम्मेलन गरी मंसिर १४ र १५ गते घाटबेसीमा सम्पन्न भेलाले विधान संशोधनका १३ प्रस्ताव र समसामयिक राजनीतिसम्बन्धी पाँच प्रस्तावार गरेको जानकारी दिए ।

भेलाले पार्टीका सबै तहमा संकलन गरिएको शुल्कको ३० प्रतिशत रकम सोही तहमा आपतकालीन कोष निर्माण गरी राख्ने, पार्टीका सबै तहका पदाधिकारी एवं सदस्य र अनुशासन समिति निर्वाचनद्वारा नै चुनिने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

यस्तै जिल्ला कार्यसमितिका पदाधिकारी पदेन महाधिवेशन प्रतिनिधि हुनुपर्ने, एक व्यक्तिलाई एक पटक मात्र अवसर दिनुपर्ने, स्थानीय निर्वाचनमा गाउँपालिका तथा नगरपालिकासम्मको उम्मेदवार चयन गर्ने जिम्मा सम्बन्धित जिल्ला समितिलाई दिइनुपर्ने, उपमहानगर, महानगर र जिल्ला समन्वय समितिको उम्मेदवार चयन गर्ने अधिकार प्रदेश समितिलाई अधिकार दिनुपर्नेलगायतका माग भेलाले गरेको छ ।

नियमविपरीत १६ जिल्लामा कामु सीडीओ
निजामती सेवा ऐनको व्यवस्थाविपरीत सरकारले १६ जिल्लामा ६ महिनाभन्दा बढी समयदेखि कायममुकायम प्रमुख जिल्ला आधिकारी (सिडिओ) खटाएको छ । सहसचिवको दरबन्दी भएका जिल्लाहरूमा ६ महिनाभन्दा लामो समयदेखि उपसचिवहरूले कामु सिडिओका रूपमा काम गर्दै आएका हुन् । निजामती ऐनमा कुनै पनि कर्मचारीलाई ६ महिनाभन्दा बढी कायममुकायम बनाएर खटाउन नपाइने प्रावधान छ ।

इलाम, उदयपुर, सिन्धुली, सप्तरी, सिरहा, महोत्तरी, बारा, सिन्धुपाल्चोक, तनहुँ, बाग्लुङ, स्याङ्जा, गुल्मी, नवलपरासी, नवलपरासी (पूर्व), बर्दिया र डोटीमा ६ महिनाभन्दा लामो समयदेखि कामु सिडिओ छन् । सहसचिव अभाव भएकाले धेरै जिल्लामा उपसचिवलाई कामुको जिम्मेवारी दिएर खटाउनुपरेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । ‘सहसचिवको अभाव भएकाले कामु सिडिओहरूलाई नै निरन्तरता दिइएको हो,’ उनले भने, ‘यसका लागि विगतको नजिरका आधारमा सरकारले सहसचिव उपलब्ध नभएसम्म उनीहरूलाई अधिकार दिएको छ ।’

लोकसेवा आयोगले सहसचिवको नयाँ विज्ञापन नखुलाएको र धेरै सहसचिवलाई प्रदेशमा खटाइएकाले पनि उपसचिवलाई कामु दिएर खटाउनुपरेको गृहका अधिकारी बताउँछन् ।, नयाँ पत्रिकामा खबर छ ।

नेविसंघले जिल्ला अधिवेशन गर्न प्रतिनिधि खटायो 
नेपाल विद्यार्थी संघले देशभर जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधि खटाएको छ । नेविसंघले पुस २८ देखि ३० गतेसम्म हुने १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि शनिबार ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको हो ।

अध्यक्ष नैनसिंह महरले संघको विधान र नियमावलीअनुसार सबै जिल्लामा निर्वाचन सम्पन्न गर्न केन्द्रबाट प्रतिनिधि खटाएको जानकारी दिए । खटाइएका प्रतिनिधि चार दिनभित्रमा तोकिएको जिल्लामा पुग्ने र नगए  प्रतिनिधिको विकल्पमा अर्को पठाइने छ । 

नेविसंघले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मङ्सिर २२ गतेभित्र देशभरका सबै माध्यामिक तथा उच्चमाध्यामिक विद्यालय, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगर, पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस तथा विश्वविद्यालय, पुस १४ भित्र सबै जिल्ला र पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने रहेको छ । 

एचआइभी सङ्क्रमणमा कमी हुँदै
दशकअघि भयावह भनिएको एचआइभी सङ्क्रमण दरमा क्रमशः न्यूनीकरण हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ । सामाजिक सचेतना, उपचार, कण्डम वितरण, दुव्र्यसन न्यूनीकरण, स्वास्थ्य परीक्षण र रोकथामका कार्यक्रमलाई तीव्रता दिएकाले रोगको सङ्क्रमण घटेको हो । 

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुका अनुसार एक दशकको प्र्रयासमा रोगको सङ्क्रमण दर घटेको र रोगप्रति हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको छ । सन् २००५ मा नेपालमा सङ्क्रमण दर प्रतिएक हजार पाँच रहेकामा अहिले घटेर प्रतिएक हजार दुईमा झरेको छ । यस्तै लागुपदार्थ दुव्र्यसनी भएकाहरूको अध्ययनमा ६८ प्रतिशतमा सङ्क्रमण थियो अहिले झरेर ८ दशमलव ५ प्रतिशतमा झर्नु महत्वपूर्ण उपलब्धि हो भन्नुहुन्छ, रावल । यौनजन्य क्रियाकलापबाट भने ६ प्रतिशतबाट घटेर १ प्रतिशत सङ्क्रमण दर रहेको जनाइएको छ ।

सरकारी तथ्याङ्कअनुसार हाल नेपालमा २१ हजार १४८ जनामा एचआइभी सङ्क्रमण भएको पाइएको छ । नेपालमा ३१ हजार सङ्क्रमण रहेको अनुमान छ । नखुलेका १० हजारमध्ये सरकारले सन् २०२१ सम्ममा सात हजारलाई खोज्दै छ । सरकारले अहिले सङ्क्रमितको पहिचान गरेर स्वास्थ्य संस्थामा आउने वातावरणका लागि कार्यक्रम सञ्चालन गरेको केन्द्रले जनाएको छ । 

लघुवित्तलाई ग्रामीण क्षेत्रमा जान प्रधानमन्त्रीको आग्रह 
प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास र गरीबी निवारण अभियानमा सहभागी हुन लघुवित्त संस्थालाई अपिल गर्नुभएको छ । शनिबारदेखि काठमाडौंमा शुरु भएको दोस्रो लघुवित्त सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “शहरी र चक्रपथभित्रभन्दा पनि ग्रामीण क्षेत्रमा लघुवित्त संस्था जानुपर्छ ।” 

प्रधानमन्त्री ओलीले सुगमदेखि दुर्गमसम्मको सहभागिता रहेकाले लघुवित्तका सदस्य समृद्ध र सुखी भए गरीबीको समस्या आधा हल हुने विश्वास व्यक्त गर्दै लघुवित्तको विकासलाई बाधा पर्ने कुनै कानून भए सरकार संशोधन गर्न तयार रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले विभिन्न षड्यन्त्रबाट आएका शासकबाट जनता लामो समय शासित हुनुपरेकाले विकास हुन नसकेको उल्लेख गर्दै अहिले मुलुकमा स्पष्ट दृष्टिकोण र जनताको माया गर्ने सरकार रहेको धारणा व्यक्त गर्नुभयो । 

कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने म्याद थप 
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनः थप गरेको छ । बोर्डले एक सूचना जारी गदै रजिष्ट्रेशन आवेदन फाराम भर्ने म्याद थपेको हो । निर्धारित समयमा धेरै विद्यार्थीको फाराम भर्न छुटेको भन्ने गुनासो आएपछि भर्ने म्याद पुनः थप गरिएको बोर्डले जनाएको छ ।

फाराम बुझाउन छुट भएका विद्यालय र विद्यार्थीका लागि बोर्डको यही मङ्सिर १२ गतेको निर्णयानुसार बिलम्व शुल्क प्रतिविद्यार्थी ८०० रुपैयाँसहित हुने रकम बोर्डका नाममा जम्मा गरेको भौचर र रजिष्ट्रेशन आवेदन फाराम यही मङ्सिर १९ गतेभित्र बोर्डका सम्बन्धित शाखा कार्यालयमा बुझाउनु पर्नेछ । 

अस्वभाविक कार्यमा संलग्न बालबालिका नियन्त्रणमा 
अस्वाभाविक गतिविधिमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले १८ वर्ष कम उमेरका २० बालबालिकालाई नियन्त्रणमा लिएको छ ।  उनीहरूले रातको समयमा रेस्टुराँ, डिस्को डान्स, दोहोरी साँझमा प्रवेश गरी मादक पदार्थ र चुरोट तथा हुक्का सेवन गरी अस्वाभाविक क्रियाकलाप देखाइरहेको भन्ने गुनासो प्राप्त भएपछि प्रहरीले अनुगमनको सिलसिलामा अस्वाभाविक कार्यमा संलग्न २० बालबालिकालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त टोलिले पोखरा नगरक्षेत्र र विशेष गरी लेकसाइड क्षेत्रमा रहेका विभिन्न होटल, रेस्टुराँ, डिस्को दोहोरी साँझ एवं डान्सबारमा अनुगमन गरी उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ । नियन्त्रणमा लिइएकामध्ये पाँच बालिका रहेका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

‘ए’ डिभिजन लिग
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार भएका खेलमा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लब विजयी भएका छन् । संकटाले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

हल्चोकस्थित एपीएफ मैदानमा संकटालाई जित दिलाउन अमित तामाङ र एलोन म्याक्सवेलले एक एक गोल गरे । च्यासलका सन्तोष साहुखलले एक गोल फर्काए । जितसंगै संकटा तेस्रो स्थानमा उक्लिएको छ । संकटाले पाँच खेलबाट ९ अंक जोडेको छ । पराजित च्यासल ४ अंक जोडेर आठौं स्थानमा छ । 

यस्तै, उपाधि दाबेदार तथा लिग लिडर सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले लिगमा लगातार पाँचौ जित निकालेको छ । शनिबारको खेलमा सरस्वती युथ क्लबलाई २ शुन्य गोल अन्तरले पराजित गर्दै मनाङले शतप्रतिशत जित निकालेको हो । मनाङलाई जित दिलाउन अन्जन बिष्ट र आफिज ओलावालेले समान एक एक गोल गरे ।

salt training

कमेन्ट गर्नुहोस्