
कञ्चनपुर– कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई न्याय माग्दै फेरि आन्दोलनको घोषणा भएको छ । निर्मलाको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि प्रहरीले बलात्कारी र हत्यारालाई सार्वजनिक नगरेको भन्दै आन्दोलनको घोषणा भएको हो ।
शनिबार नागरिक संघर्ष समितिको महेन्द्रनगरमा बसेको बैठकले न्यायका लागि आन्दोलनको विकल्प नभएको भन्दै चारदिने आन्दोलनको कार्यक्रम तय गरेको हो । निर्मलाका आमाबाबुलाई सुटुक्क काठमाडौं लगेर आन्दोलन तुहिएको दाबी गर्दै फेरि समितिले आन्दोलनको घोषणा गरेको हो ।
सोमबारदेखि अब नागरिक संघर्ष समितिले आन्दोलन गर्ने भएको हो । नागरिक समाज कञ्चनपुरका पूर्वअध्यक्ष नरबहादुर साउदका अनुसार १७ देखि २० मंसिरसम्म आन्दोलनका कार्यक्रम तय भएका छन् । सोमबार र मंगलबार सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला प्रशासन कार्यालय मूलगेटमा कालोपट्टी बाँधेर धर्ना दिने, बुधबार न्यायका लागि दिउँसै टर्च बालेर प्रदर्शन गर्ने, बिहीबार मानवसाङलो बनाउने रहेका छन् ।