
काठमाडौं — बेल्जियमका चिकित्सक मार्क भान होईले देशमा इच्छामृत्यु वैध भएदेखि अहिलेसम्म १४० बिरामी मारेको बताएका छन् ।
उनले स्ट्रोकबाट सताइएकी एक महिलाको बारेमा बताए । ‘उनी असल साथी थिइन् र रोगी पनि थिइन् । उनीसँग मेरो १५ वर्षदेखिको चिनजान थियो । उनी सुन्दर वृद्धा थिइन् । उनले मर्ने दिनमा केशविन्यास गर्नेहरूलाई कपाल
सजाउन लगाइन्, अनुहारमा मेकअप गराइन् र हामीसँग बसेर श्याम्पेन पिइन् । त्यसपछि हामीहरूले उनलाई एउटा इन्जेक्सन दियौं र उनी मरिन्,’ होई भन्छन् ।
प्यानक्रियाटिक क्यान्सरबाट सताइएका अर्का मित्रलाई भान होईले बार्बिटुरेटको कडा डोज दिएर मारेको बताए ।
बेल्जियमको एन्टवर्पमा बस्ने चिकित्सक होई ५७ वर्षका भए र उनी मृत्युको अधिकार फ्लान्डर्स संस्थाका अध्यक्ष हुन् ।
अमेरिकामा मृत्युको अधिकारको पैरवी गर्ने कुख्यात चिकित्सक ज्याक केभोर्कियनले भन्दा बढी मानिस होईले मारेका छन् । केभोर्कियनलाई डक्टर डेथ भनिन्थ्यो र उनले १२९ जना बिरामीलाई मर्न सहयोग गरेको दाबी गरेका थिए ।
पछि उनलाई हत्याको अभियोग लगाइयो ।
‘मान्छे मार्नु सहज छैन,’ इच्छामृत्युका पैरवीकर्ता भोन होई भन्छन् । ‘यसो गर्दा म खतरनाक सेडिस्ट जस्तो देखिन्छु । तर यो दयावश गरिएको कर्म हो । यो समानुभूतिको काम हो ।’
तर होई पनि केभोर्कियन जस्तै कारागार पुग्न सक्ने सम्भावना छ । उनले अब कुनै पनि इच्छामृत्यु गराउन पाउनेछैनन् किनकि उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । सन् २०१५ मा छोरीको अचानक मृत्यु भएपछि आत्महत्याको
धम्की दिने एक वृद्धालाई मर्न सहयोग गरेको आरोपमा प्रहरीले उनीमाथि अनुसन्धान चलाएको हो ।
यो घटना अदालतमा पुगेमा रोगीलाई विष दिएको आरोप उनीमाथि लाग्न सक्छ । ‘यो मुद्दा ममाथि झुण्डिएको तरबार जस्तै हो,’ उनले भने ।
इच्छामृत्यु निकै संवेदनशील विषयका रूपमा रहेको छ र यसका पक्ष र विपक्षमा उत्तिकै आवाजहरू छन् ।
द डेली मेलबाट