
काठमाडौं — संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान की मूनले उत्तर कोरियाका नेता किम जोङ उनलाई पूर्ण निःशस्त्रीकरणका लागि ठोस कदम चाल्न आग्रह गरेका छन् । उत्तरविरुद्ध लागेको आर्थिक प्रतिबन्ध हटाउन र अन्तर्राष्ट्रिय
समुदायको विश्वास हासिल गर्न किमले यो कदम चाल्नुपर्ने बानको भनाइ छ ।
दक्षिण कोरियाका पूर्व परराष्ट्रमन्त्री बानले २५ वर्षको असफल प्रयासपछि उत्तरको निःशस्त्रीकरणको सही समय यही नै भएको र उसले यो अवसर गुमाउन नहुने उनले बताए ।
दुई कोरियाबीचको थप राम्रो भविष्यका लागि आणविक निःशस्त्रीकरण महत्त्वपूर्ण रहेको उनले बताए ।
एसोसिएटेड प्रेससँग कुरा गर्दै उनले भने, ‘समय आइसकेको छ, कृपया यो अवसर नगुमाउनुस् ।’
किमले अघिल्लो वर्ष आणविक परीक्षण गरेर तनाव बढाएको भए पनि यो वर्षको शुरूआतमा दक्षिण कोरिया र अमेरिकासँग वार्ता गरेका छन् र आणविक निःशस्त्रीकरणको अस्पष्ट वाचा गरेका छन् ।
एजेन्सी