
काठमाडौं — नेपालमा राष्ट्रपतिले १८ करोड पर्ने विलासी गाडी किन्न लागेको भन्दै चर्को विवाद भइरहेको बेला मेक्सिकोमा भने राष्ट्रपतिको जेट विमानको लिलाम बिक्री गर्न लागिएको छ ।
देशका नयाँ राष्ट्रपति एन्द्रेस म्यानुएल लोपेज ओब्राडोरको आदेशमा लिलामी हुन लागेको हो ।
यो विमानलाई सन् २०१२ मा तत्कालीन राष्ट्रपति फेलिपे काल्डेरनले अधिग्रहण गरेका थिए ।
यसको मूल्य २१.८७ करोड डलर छ । यति महंगो विमान चढ्ने गरेको भनी त्यतिखेर राष्ट्रपतिको आलोचना भएको थियो ।
अर्थ सचिवालयले जनाएअनुसार, यो विमानलाई क्यालिफोर्नियाको भिक्टरभिलेमा लगेर लिलामी गरिनेछ । त्यसको मर्मत र मोडिफिकेसजनपछि मेक्सिको सरकारले अधिकतम मूल्य निर्धारण गर्नेछ ।
अर्थमन्त्री कार्लोस उरजुआले आइतवार व्यक्तिगत रूपमा विमानको स्थितिको जाँचबुझ गरे । विमानले ८० यात्रीलाई ओसारपसार गर्न सक्छ । त्यसमा बाथरूम, बेडरूम र राष्ट्रपति कार्यालय पनि छ ।
राष्ट्रपतिका रूपमा लोपेजले आइतवार विमानबाट आफ्नो पहिलो यात्रा अन्य यात्रुसँग मिलेर कमर्सियल फ्लाइटमा गरे । लोपेज ओब्राडोर मेक्सिको सिटीको नेसनल प्यालेस आफ्नै सेतो गाडी लिएर पुगे । उनले अंगरक्षक राख्न पनि
मानेका छैनन् ।
एजेन्सी