
काठमाडौं — फ्रान्समा इन्धनको मूल्यवृद्धिको विरोध गरिरहेका प्रदर्शनकारीहरू प्रधानमन्त्रीसँग मंगलवार हुने भनिएको वार्ताबाट पछि हटेका छन् ।
पहेंलो ज्याकेट आन्दोलनकारीहरूका केही सदस्यलाई उग्रपन्थी प्रदर्शनकारीले ज्यान मार्ने धम्की दिँदै सरकारसँग वार्ता नगर्न भनेपछि पछि हटेको बताए ।
विगत तीन हप्तादेखि इन्धनको मूल्यवृद्धिका विषयमा फ्रान्सका विभिन्न भागमा प्रदर्शन भइरहेका छन् ।
केही दिनयता प्रदर्शन हिंस्रक हुँदै गएको छ । अहिलेसम्म चारजनाको ज्यान गइसकेको छ ।
फ्रान्सका गृहमन्त्रीले आइतवारको प्रदर्शनमा लगभग एक लाख ३६ हजार मानिसले भाग लिएको जानकारी दिए ।
आन्दोलनको प्रचार सामाजिक सञ्जालमा तीव्र गतिमा भयो । राष्ट्पति इम्मानुएल म्याक्रोंका आर्थिक नीतिहरूको आलोचना बढ्दै गयो र विरोध प्रदर्शन चर्कियो ।
सरकारले विपक्षी दलहरूसँग आन्दोलन शान्त बनाउने विषयमा बैठक गरेको छ ।
विपक्षी नेता मरिन ला पें बैठकमा उपस्थित थिइन् । उनले विगत ५० वर्षमा आफ्नै जनतामाथि गोली चलाउने आदेश दिने म्याक्रों पहिलो नेता हुन लागेको बताइन् ।
फ्रान्सका अर्थमन्त्री ब्रुनो ले मायरले अघिल्लो हप्ता व्यापारमा भएको नोक्सानीको जानकारीका लागि व्यापार प्रतिनिधिसँग कुराकानी गरे । मायरले सरकार सार्वजनिक खर्च कटौतीका लागि प्रतिबद्ध रहेको बताए ।
बीबीसी हिन्दीबाट