सर्जक राजेन्द्र थापाको मन सिउनैपर्ने गरी फाटेको छैन । नेपाली साहित्यका ६ विधामा कलम चलाएर दश संग्रह प्रकाशन गरेका थापाले गीत लेखनलाई धेरै समय छुट्ट्याउने बताउँछन् । आफूले लेखेको उपन्यास ‘खेलौना’ सात दिनमा दश हजार प्रति बिक्री भएको थियो भन्छन् थापा ।
हँसिलो अनुहारको आभा बूढो हुन लागेको छ । तर उनको जोश भने अझै पनि उस्तै जोशिलो छ, फौजी जीवनमा जस्तै । घरवरिपरि रोपिएका ठूल्ठूला रुखले चैत्रको स्वागत गर्न लागेको गर्मीमा शीतल छरिरहेको थियो । हामी जाँदा उनी हामीलाई नै कुरेर बसिरहेका थिए ।
गीत, गजल, हाइकु, कथा, मुक्तक, उपन्यास आदि विधामा कलम चलाउने थापा नेपाली पाठक तथा श्रोतामाझ खासगरी गीतकारका रूपमा चर्चित छन् । तर उनी यो स्वीकार्न तयार छैनन् । ‘गीतले मात्र मलाई चिनाएको हैन । सबै विधाले मलाई चिनाउन उस्तै भूमिका खेलेको छ,’ उनी भन्छन् ।
क्या दामी भो, गाला रातै, पोहोर साल खुशी फाट्यो, दर्शन नमस्ते लगायतका दर्जनौं गीतका सर्जक थापा आफ्ना गीतले गायकलाई समेत सफल हुन इँटा थपेको बताउँछन् । ‘तपार्इं अहिलेका चर्चित कलाकारलाई हेर्नुस्, उहाँहरूले स्टेजमा गएर गाउने गीत मेरै हो,’ उनी थप्छन्, ‘धेरैले मलाई गीतकारका रूपमा चिनेपनि राजनीतिक विश्लेषणदेखि अन्य सृजनाले मलाई चिनाएका छन् ।’
पछिल्लो समयमा विवादमा आएको उनको उपन्यास ‘खेलौना’लाई समाजमा नकारात्मक प्रभाव पारेको भन्ने कतिपय पाठकको आरोपलाई भने उनी स्वीकार्दैनन् । ‘मेरो उपन्यासले त नेपालीलाई उल्टो सचेत हुन सिकाउँछ । केही पाठकले गलत अर्थ लगाइदिएका मात्र हुन् ।’
पारिवारिक वातावरणले सानैदेखि साहित्यलाई अध्ययन गर्ने अवसर पाएका थिए । कामको सिलसिलामा वीरगञ्ज जाँदा उनले दश वर्षको उमेरमा नै प्रेमचन्द कण्ठ पारेको बताउँछन् । पहिलेको तुलनामा अहिले साहित्यको संरचना पनि बदलिएको बताउने थापाले पछिल्लो समयमा साहित्य मात्र होइन, पूरै मिडिया नै ‘सिन्डिकेट’को मारमा परेको बताउँछन् । ‘अहिले समय खुला छैन । तपाईं अगाडि आउन पनि कि त पूर्वेली हुनुपर्छ, होइन भने कुनै समूहसँग नजिक हुनुपर्छ ।’
उनी समाजसँग असहमति जनाउँदै भन्छन्, ‘कि बाहुन हुनुपर्छ, कि प्रगतिशील हुनुपर्छ । होइन भने सकारात्मक छाप्न पनि रोक लाग्छ यहाँ ।’
यहाँ उनान्सय प्रतिशत साहित्यकार सिन्डिकेटको मारमा परेका छन् । होइन भने मदन पुरस्कार पाएपछि मात्र पुस्तक चर्चामा ल्याइदिने कस्तो नियम त ? – उनी प्रश्न गर्छन् ।
‘साहित्यको काम सन्देश दिने होइन । हामीलाई गलत तरिकाले सिकाइएको छ,’ उनी आफ्नो तर्कलाई स्पष्ट पार्दै भन्छन्, ‘गीत तथा साहित्य छिटो पुग्ने माध्यम भएकाले केही बौद्धिक वर्गले यसलाई उद्देश्यका रूपमा अर्थ्याएका हुन् ।’
उनी आफ्नो उपन्यास ‘खेलौना’लाई आफूले २७ वर्षपछि लेखेको बताउँछन् । आफ्नो उपन्यासमा यौनका कुरा आएपनि त्यो अश्लील उपन्यास नभएको उनको तर्क छ । ‘यसलाई अश्लीलताको रूपमा प्रयोग त गरियो तर यसले समाजलाई सचेत बनाउन भूमिका खेलेको छ,’ उनी थप्छन्, ‘पाठकले पढ्दै नपढी सुनेका आधारमा प्रतिक्रिया दिन्छन् ।’
यौनका बारेमा खुलेर बोल्न रुचाउने थापा यौनविना संसार चल्न सम्भव नहुने बताउँछन् । ‘खेलौना पढेर नारीहरूले गीताका रूपमा परिभाषित गर्नुभएको छ,’ उनी थप्छन्, ‘यही उपन्यास प्रभावकारी भएर त्रिभुवन विश्वविद्यालयले समेत एक हप्ता नहुँदै मेरो उपन्यासमाथि शोधपत्र गरेको छ ।’
‘खेलौनामा यौनको कथा हैन, यौन शोषणको कथा छ ।’ उनी भन्छन्, ‘तर यौन हुँदैनथ्यो भने त तपार्इं हामी नै हुने थिएनौं नि ।’
नेपाली सेनाबाट अवकाश पाएका थापा भविष्यको योजना साहित्य सृजनाबाहेक केही नभएको बताउँछन् । थापा साहित्य कल्पना होइन भन्ने तर्क राख्छन् । बरू लेखक कल्पनाशीलताको माध्यम हो भन्छन् उनी । ‘हाम्रो समाज नै खुलस्त हुन सकेको छैन । यौनका बारेमा बोल्न सकेका छैनौं । यसैले पनि हामीलाई पछाडि पारेको हो,’ उनी थप्छन् ।
आफ्ना गीतबाट सकारात्मक प्रतिक्रिया आएपनि कसैले एउटा गीतलाई अर्को गीतसँग तुलना गरेको आफूलाई मन नपर्ने उनी बताउँछन् । ‘एउटा गीतसँग अर्को गीतको तुलना गरेर अपमान गरेको कि प्रशंसा ?’ उनी प्रश्न तेर्स्याउँछन् ।
आफ्नो उपन्यास ‘खेलौना’पछि अर्को उपन्यास ‘द्रौपदी’ पनि यौनकै विषय उठान गरेका थापाले केही पाठकबाट नकारात्मक प्रतिक्रिया आएपनि भावना बुझ्ने साथीहरूले सकारात्मक प्रतिक्रिया दिएको बताउँछन् ।
‘खेलौना’ पढेपछि एक वृद्धले भनेको कुरा सम्झँदै उनी भन्छन्, ‘राजेन्द्रजी, तपार्इंले साँच्चै राम्रो विषय उठान गर्नुभएछ । मेरो घरमा नातिनीको साथी आउँदा मेरो मन पनि बहकिन खोज्छ । मेरो त के कुरा, घाटमा पु–याइएको वृद्धले पनि तरुनी देखेपछि जुरुक्क उठेर हेर्छन्,’ उनी लामो हाँसो हाँस्दै भन्छन् ।