
यस वर्षको अस्कर फिल्म पुरस्कार विवादै विवादले घेरियो । सर्वोत्कृष्ट फिल्मको पुरस्कार 'ला ला ल्यान्ड' नामक फिल्मले पाएको घोषणा भएपनि अन्ततोगत्वा 'मूनलाइट' फिल्मले उक्त पुरस्कार जितेको पाइयो । यो गल्तीको सजायस्वरूप दुईजना एकाउन्टेन्टले जागिरबाटै बर्खास्त हुनुप–यो अनि उनीहरुलाई ज्यान मार्ने धम्की समेत आएकाले अंगरक्षक नियुक्त गर्नुपरेको छ । फिल्म घोषणामा भएको गडबडी त आफ्नै ठाउँमा छँदैछ, मूनलाइटले पुरस्कार पाउनुमा नै ठूलो राजनीति जोडिएको छ ।
'मूनलाइट'को विजयलाई उदारवादीहरू देशको आर्थिक विकासको एजेन्डाबाट भड्किएर पहिचानको राजनीतिमा अल्झिन थाल्नुको एक उदाहरणका रुपमा बुझ्न सकिन्छ । काला जातिको निर्देशकले आफ्नै जातिको एक तेस्रोलिंगी बालकको कथा मूनलाइटमार्फत पस्किएका छन् । जाति र लिंगमा व्यक्तिलाई सीमित गरेर राजनीति गर्न पल्केका अनि पहिचान र समावेशिताको चर्को नारा उराल्ने उदारवादीहरूले यो फिल्मले अस्कर नजितेमा ठीक नहुने चेतावनी दिन थालिसकेका थिए । अझ, विगतका केही वर्षदेखि सांस्कृतिक समालोचकहरुले अल्पसंख्यकको आवाज कलामा अनि आलोचकहरुकै समुदायमा पनि उठाउनुपर्ने पैरवी गर्दै आइरहेका थिए ।
उता, 'मूनलाइट'को प्रतिस्पर्धी ठानिएको ला ला ल्यान्ड चाहिँ गोरा जातिको निर्देशकले गोराहरूलाई प्रमुख पात्र बनाएर बुनेको कथा थियो । लस एन्जेलसको यो फिल्मको लोकेसन हो । लस एन्जेलसमा समलिंगीहरु धेरै भएपनि यो फिल्मले समलिंगी नदेखाएको भनी आलोचना भएको थियो । यस्तो आलोचनाको डर अहिले बनिरहेका सबै फिल्मले बोक्नुपर्ने बाध्यता आइलागेको छ ।
गोरा जातिको वर्चस्व रहेको हलिउडमा समावेशिताको आवश्यकता महसूस भएपनि यसैका कारण कुनै पनि फिल्मले जाति तथा लिंगका सीमाहरुमा बाँधिनुपर्ने स्थिति आउनु चाहिँ दुर्भाग्यपूर्ण हो । कुनै पनि फिल्मले सबै अल्पसंख्यक समुदायलाई एकैचोटिमा समावेश गर्नै सक्दैन किनकि यस्तामध्येका कुनै न कुनै समुदायले आफूलाई बेवास्ता गरिएको तर्क गर्न सक्छन् । एउटै फिल्ममा अल्पसंख्यक जाति, महिला, तेस्रोलिंगी, अपांगता भएका व्यक्तिलाई कसरी सार्थक रुपमा जुटाउन सकिन्छ र ? हो, अमेरिकी टिभी शृंखलाहरुले भने आजभोलि यस्तो समावेशिताको अभ्यास गर्न थालेका छन् र उनीहरुलाई धेरै शृंखलामा कथा बताउने सुविधा प्राप्त भएकाले पनि सजिलो छ । तर औसतमा दुई घन्टाको फिल्मले कलापक्षमा ध्यान दिने कि पहिचानको राजनीतिमा ?
खासमा समावेशिताको माग सहिष्णुताकै एक अंग हुनुपर्ने हो । तर उदारवादीहरुको समावेशिता मोह चाहिँ सहनशील देखिँदैन । जस्तो, अस्करकै कुरा गर्नुपर्दा म्यानचेस्टर बाई द सी नामक चलचित्रका लागि सर्वोत्कृष्ट अभिनेताको पुरस्कार जित्ने गोरा जातिका कलाकार केसी अफ्लेकविरुद्ध नकारात्मक टिप्पणीको बाढी नै आयो । उनले पुरस्कार पाउनुहुँदैन भनी अभियान नै चलाइएको थियो । एक महिलाले केही वर्षअघि केसीमाथि लगाएको यौन दुर्व्यवहारको आरोपलाई उचालिएको थियो । तर उनले पुरस्कार जितिछाडे । पछि चाहिँ यस्तो व्यक्तिलाई किन अवार्ड दिइएको भन्ने प्रश्न उठाइयो । उदारवादीहरु उनका प्रतिस्पर्धी काला जातिका अभिनेता डेन्जल वाशिङटनले फेन्सेस नामक फिल्मका लागि यो पुरस्कार जित्नुपर्छ भनी पैरवी गरिरहेका थिए । अभिनेताको अभिनय क्षमताभन्दा पनि उसको जातीय पहिचानलाई महत्त्व दिइएपछि यस्तो स्थिति आउनु नौलो भएन ।
बक्स अफिसमा राम्रो कमाइ गरेको 'ला ला ल्यान्ड'का विरुद्ध पनि यस्तै अभियान चलाइएको थियो । यो फिल्मको लैंगिक राजनीतिमा समस्या रहेको भनी आलोचकहरुले प्रश्न उठाएका थिए । हुन त यस फिल्मका लागि नायिका एम्मा स्टोनले अस्कर लगायत अन्य धेरै पुरस्कार हात पारिन् तर आलोचकहरुले उनको कथामा कुनै निर्णायक भूमिका नभएको तर्क गरे । नायक रायन गोस्लिङ, जसले सेबास्टियन नामक पात्रको भूमिका निर्वाह गरेका छन्, उनैले मिया (एम्मा) लाई ज्याजमा परिचित गराएको अनि फिल्ममा पुरुषले महिलालाई ज्याज सिकाएको दृश्य धेरै भएको आलोचकहरुले टिप्पणी गरे । अनि रोस्टम नामक संगीतकारले कालाजातिले सिर्जना गरेको ज्याज संगीतप्रति गोरो नायकको लगाव देखाएर कालाजातिलाई यथोचित सम्मान नदिइएको आरोप लगाए ।
फिल्म सुपरडुपर हिट भएपछि नै यी आवाज उठ्न थालेका थिए । फिल्म फ्लप भएको भए कसैले यसको लैंगिक र जातीय राजनीतिको चिरफार गर्ने कष्ट गर्र्दैनथियो शायद । अझ, ज्याज संगीतका पारखीहरुले त बिर्सिइएको संगीतलाई मूलधारमा परिचित गराएकोमा फिल्म बनाउनेहरुलाई धन्यवाद दिन्थे होलान् । तर गोराले बनाएको फिल्ममा अल्पसंख्यक राजनीतीकरण नगरिकन उदारवादीहरुलाई किन चित्त बुझ्थ्यो ?
केही महिनाअघि नेपाली चलचित्रमा पनि यस्तै खाले बहस उठ्यो । 'छक्का पञ्जा'ले बक्स अफिसका सबै रेकर्ड तोड्दै लोकप्रिय भएपछि यसमा लैंगिक राजनीतिका टीकाटिप्पणी शुरु भए । यो फिल्म पनि हिट भएकैले आलोचकहरुको तारो बन्न पुग्यो ।
खैर, हलिउडको कुरा गर्दा मूनलाइट नराम्रो फिल्म भइकन पनि सर्वोत्कृष्ट फिल्ममा दरियो भन्ने पंक्तिकारको आशय होइन । नाटककार ट्यारेल अल्भिन मक्क्रेनीको नाटकमाथि ब्यारी जेनकिन्सले सुन्दर फिल्म बनाएका हुन् । अमेरिकाको जातीय विभेदकारी समाजमा कालो जातिको मानिस, अझ त्यसमाथि तेस्रोलिंगीलाई, सम्मानपूर्वक बाँच्न कति गाह्रो छ भनी फिल्मले सुन्दरतापूर्वक देखाएको छ । तर यसको कलापक्षलाई भन्दा पनि पहिचानको राजनीतिलाई चम्काउनका लागि उदारवादी आलोचकहरुले यसको दुरुपयोग गरेको चाहिँ अपाच्य हो ।
अझ, मलाई त के लाग्छ भने यो फिल्मलाई सर्वोत्कृष्ट त जानीजानी नै बनाइएको हो । सकारात्मक विभेदको उदाहरणस्वरुप यसलाई जिताइएको हो । लगातार दुई वर्ष अस्कर एकेडेमीले कालाजाति लगायतका अल्पसंख्यकलाई बेवास्ता गरेको त्यसैले अस्करलाई बहिष्कार गर्नुपर्छ भनी अस्कर्ससोह्वाईट अभियान नै चलाइएको थियो । कलाको सौन्दर्यशास्त्रको ठाउँमा कुरुप जातिवादी तथा पहिचानवादी राजनीति हावी भएकाले यस्ता अभियान चलेका थिए ।
कलाले गहिराइ हैन विविधता देखाउनुपर्ने अपेक्षा गर्न थालिएको छ अचेल । दर्शकलाई विचार र भावनाको गहिराइमा पु-याएर वैश्विक दृष्टिकोण दिलाउनुपर्ने फिल्मले अब कुन कुन सीमान्तीकृत छुटे होलान् भनी डरै डरमा कथा लेख्नुपर्ने भयो । यसरी राजनीतिले कलाको हात बाँधिदिएपछि सौन्दर्यपक्ष दुर्बल हुन जान्छ ।
प्रस्टै छ, अल्पसंख्यकको यही पहिचानवादी राजनीतिले अतिवादी मोड लिँदा पश्चिममा अनुदारवादी उग्रदक्षिणपन्थी नेताहरुप्रतिको आकर्षण बढेको हो ।
वास्तवमा पहिचानको राजनीतिले यसरी जरा फैलाउँदै जाँदा अभिव्यक्ति स्वतन्त्रता पनि खुम्चिँदै जान्छ । खासमा अहिलेको युग नै अनावश्यक संवेदनशीलताको युगका रुपमा उदाएको छ । राजनीतिक विशुद्धता (पोलिटिकल करेक्टनेस) को यो युगमा आफ्नो मनको कुरा भन्न मानिसलाई स्वतन्त्रता छैन । कुन समूहले के कुरालाई पक्रेर चित्त दुखाइदिने हो थाहै हुँदैन । जस्तो, केही वर्षअघि उपन्याकार अमर न्यौपानेको 'सेतो धर्ती' नामक उपन्यासमा एकथरी जातिको प्रस्तुति आपत्तिजनक रहेको भनी लेखकलाई ज्यान मार्ने समेत धम्की आएको थियो । न्यौपाने त विशुद्ध कलाको सिर्जना गर्दैथिए र उनको उद्देश्य कुनै जातिलाई होच्याउने त थिएन होला तर यस्तो स्थिति आइलाग्यो । कलाकारको मनमस्तिष्कमा पनि यसरी राजनीतिको डर बस्नु पक्कै पनि वाञ्छनीय स्थिति होइन ।
दोस्रो जनआन्दोलनपछि पश्चिमी उक्साहटमा नेपालमा पनि पहिचानको राजनीतिलाई जोडतोडका साथ उठाइएकोमा अमेरिकाको समस्या यहाँ पनि दोहोरिने स्थिति आउन दिनु हुँदैन ।
एजेन्सीको सहयोगमा