काठमाडौं, २१ फागुन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा रक्षामन्त्री बालकृष्ण खाणले पाँच नम्बर टुक्राउने योजनामा आफ्नो समर्थन नरहेको बताएका छन्।

शनिबार नेपाली कांग्रेस अर्धाखाँची–काठमाडौं सम्पर्क तयारी समितिले आयोजना गरेको बनभोज कार्यक्रमलाई चोभारमा सम्बोधन गर्दै उनले प्रदेश टुक्रयाउने काम त्यो क्षेत्रका जनताको लागि पींडादायक भएको स्पष्ट पारे । ‘त्यसरी प्रदेश टुक्रयाउनु हुँदैन बरु थप्नचाँहि सकिन्थ्यो, यो काम मलाई पनि चित्त बुझेको छैन’ रुपन्देही – २ बाट निर्वाचित सांसदसमेत रहेका खाणले भने ‘मैले यो विषयलाई लिएर क्याबिनेटमा पनि कुरा गरें र पार्टी सभापतिलाई पनि भनें आफ्नो तर्फबाट भूमिका खेलिरहेको छु ।’
लुम्बिनीको धार्मिक महिमालाई अझ बलियो बनाउन पनि यो प्रदेशको विभाजन उपयुक्त नभएको उनको भनाई छ । संविधान निर्माण गर्दा ९० प्रतिशत सांसदको सहभागिता रहेको भन्दै उनले संविधान परिवर्तनशील दस्तावेज भउकाले आवश्यकताअनुसार संशोधन गर्न सकिनेमा जोड दिए तर उनले राष्ट्र र राष्ट्रिय एकतामा आँच आउने खालका काम गर्न नहुने बताए ।