१६ असार २०८३, मंगलबार

फ्रान्समा शनिवार पनि हिंसा भड्किएपछि एकताको अपील

मंसिर २३, २०७५
फ्रान्समा शनिवार पनि हिंसा भड्किएपछि एकताको अपील

काठमाडौं — फ्रान्समा चलिरहेको पहेंलो ज्याकेट आन्दोलनका क्रममा शनिवार पनि हिंसा भड्सकिएपछि प्रधानमन्त्री एडूआर्ड फिलिप्पेले राष्ट्रिय एकता पुनर्बहाल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

इन्धनको करवृद्धि तथा जीवनयापनमा महंगीका कारण आएको समस्याको विरोध गर्दै पहेंलो ज्याकेट लगाएका आन्दोलनकारीहरूले शनिवार पनि गरेको प्रदर्शनमा प्रहरीले अश्रूग्यास र रबरका गोली प्रहार गरेको हो । 

लगभग एक हजार मानिसलाई हिरासतमा लिइएको थियो तर हिंसा अघिल्लो हप्ताजस्तो ठूलो थिएन । 

शान्तिपूर्ण विरोध गर्नेहरूसँगको वार्ता जारी राख्नुपर्ने फिलिपेले बताए । 

उनले थपे, ‘कुनै पनि करले हाम्रो राष्ट्रिय एकतालाई खलल पार्नुहुँदैन । हामीले संवाद, कार्य र एकतामार्फत त्यो राष्ट्रिय एकतालाई पुनर्निर्माण गर्नुपर्छ ।’

राष्ट्रपति इम्मानुएल म्याक्रोंले छिट्टै संवादको वातावरण बनाउन पहल गर्ने एडूआर्डले बताए । धेरै विरोधकर्ताहरू म्याक्रोंको राजीनामा मागिरहेका छन् । 

फ्रान्सेली गृहमन्त्री क्रिस्टोफ कास्टानेरले अशान्तिलाई नियन्त्रणमा राख्ने प्रहरीको प्रशंसा गरे । 

लगभग एक लाख २५ हजार मानिसले शनिवार देशका विभिन्न भागमा भएका प्रदर्शनमा भाग लिएको गृह मन्त्रालयले जनायो । 

लगभग ९० हजार अधिकारीलाई तैनाथ गरिएको थियो । पेरिसमा आठ हजार जना तैनाथ गरिएको थियो । त्यहाँ लगभग १२ वटा सशस्त्र गाडीहरू पनि प्रयोग गरिएका थिए । 

लगभग १० हजारजनाले राजधानीमा प्रदर्शन गरे । त्यहाँ हिंसा निकै विनाशकारी भए । झ्यालहरू क्षतिग्रस्त भए, कारहरू डढाइए अनि पसलहरूमा लूटपाट गरियो । 

भिडियो फूटेजमा विरोधर्ताहरूलाई रबरको गोलीले अनुहारमा समेत हानिएको देखियो । तीनजना पत्रकारलाई समेत गोली लाग्यो । 

सत्रजना प्रहरी अधिकारीहरूलाई पनि चोट लागेको कास्टानेरले बताए । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्