०५ साउन २०८३, मंगलबार

उपकुलपति र रजिष्ट्रारको ‘जुँगाको लडाइँ’मा मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शैक्षिक संस्था बन्यो प्रहरीको ‘अड्डा’

मंसिर २३, २०७५
उपकुलपति र रजिष्ट्रारको ‘जुँगाको लडाइँ’मा मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शैक्षिक संस्था बन्यो प्रहरीको ‘अड्डा’

सुर्खेत– मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चर्किदै गएको आन्दोलन साम्य पार्न र विश्वविद्यालयको भविष्य उज्जवल पार्न विश्वविद्यालयका निलम्बित रजिष्ट्रार डा. महेन्द्र मल्ल र उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला दुबैजनालाई हटाउन शिक्षाविदले सुझाव दिएका छन् । 

शिक्षाविद् एवम विश्वविद्यालयका पूर्व डिन पिताम्बर ढकालले समस्या समाधानका लागि मल्ल र कोइरालाई हटाउनुपर्ने बताएका हुन् । 

‘विश्वविद्यालयका भिसी र रजिष्ट्रारको व्यक्तिगत टकरावका कारण विश्वविद्यालयको स्तर शून्यमा झरिसकेको छ’,उनले भने, अब त्यो शून्यतालाई हटाउन यी दुबैजनालाई हटाउनुको विकल्प छैन ।’ रजिष्ट्रारमाथि छानविन भइरहेको बताउँदै उनले अब उपकुलपतिमाथि पनि छानविन गर्नुपर्ने उल्लेख गरे ।

विश्वविद्यालय थला पर्नुको मुख्य कारण राजनीतिक भागवण्डा भएको बताउँदै ढकालले अब विश्वविद्यालय बनाउँछु भन्ने व्यक्तिलाई सरकारले नियुक्त गर्नुपर्नेमा जोड दिए ।

‘राजनीतिक भागवण्डा विश्वविद्यालयको विकासकालागि बाधक तत्व हो । अब जो ले चलाउँछ चलाओस् तर प्रगति देखियोस्’ उनले भने, भिसी रजिष्ट्रारको द्वन्द्व गर्दा फेरि त्यहि अवस्था सिर्जना भयो । द्धन्द्धको खाडल गहिरिदिै गएको हुँदा अब ती दुबै पदाधिकारीर्लाृ फालेर समस्या समाधान हुनसक्छ ।’

विश्वविद्यालयमा हरेक महिना तालाबन्दी हुनुको कारण उनीहरुबीचको द्वन्द्व भएको ढकालको दाबी छ । विश्वविद्यालयका लागि मरिमेटने व्यक्ति ल्याउन सकेको खण्डमा मात्रै विश्वविद्यालयले पुर्नजीवन पाउने उनको भनाइ थियो ।

विश्वविद्यालय स्थापना गर्न संघर्ष समितिको नेतृत्व गरेका भुषण मानन्धर पनि विश्वविद्यालयमा भएको यस्तो गतिविधिबाट सन्तुष्ट छैनन् । ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालयबारे अहिले  हामीलाई केही थाहा छैन  ।

हामीलाई कोही कसैले केही भनेका छैनन् । पत्रपत्रिकामा जे आउँछ । हाम्रा लागि सूचना त्यहि हो’ उनले भने, कोही कसैले मध्यस्थता गरिदिनु पर्यो भनेको खण्डमा विवाद मिलाउने, वातावरण बनाउने काम गर्न सकिन्थ्यो तर आजसम्म कोही कसैले हामीसँग एक शब्द पनि बोलेका छैनन् ।’

त्यत्रो संघर्ष गरेर स्थापना गरिएको विश्वविद्यालयमा यस्तो गाइजात्रा देख्दा मन पोल्ने मानन्धरले बताए । ‘विश्वविद्यालयमा दिनहुँ देखाइने गाइजात्राका कारण मन पोल्छ । तर त्यसमा बोल्ने वा खबरदारी गर्ने मेरो अधिकार केही छैन’ उनले भने, यो समस्याको निराकरण गर्न नागरिक समाज उठि दिए हुन्थ्यो । राजनीतिक दललाई, शिक्षा मन्त्रीलाई, मुख्यमन्त्रीलाई सबैलाई विश्वविद्यालयको गाइजात्राबारे थाहा छ ।’  मानन्धरका अनुसार समाधानको उपाय भनेको दुवै बीचको वार्ता हो ।

विश्वविद्यालयका उपप्राध्यापक यज्ञप्रसाद उपाध्यायले विश्वविद्यालयको विवाद निरुपण गर्न वार्ता र सहमतिको विकल्प नभएको बताए । विश्वविद्यालयमा भएको समस्या सामान्य हो । यो जटिल बनाइयो भने जटिल बन्छ । उनले भने, विद्यार्थीहरु बीच मुठभेड हुने सम्भावना छ । दुबै पक्षले लचकता अपनाउन जरुरी छ । राजनीतिक दलहरु बसेर नियमानुसार गर्नुपर्छ भनेर बसेको खण्डमा समस्या समाधान हुन्छ ।

विद्यार्थी नै  विभाजित

कर्णाली प्रदेशमा रहेको एकमात्र विश्वविद्यालय मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मुठभेडको खतरा बढदै गएको छ ।

नेपाल विद्यार्थी संघका एक पक्षका विद्यार्थीहरुले आइतबार विहान विश्वविद्यालयमा तालाबन्दी गरेकोमा नेविसंघकै अर्को खेमासहित अन्य विद्यार्थी संगठनले ताला फोडेका छन् । फेरि एमयूका रजिष्ट्रार डा. महेन्द्र मल्लमाथि छानविन गर्न सुरु गरेको विरोधमा आन्दोलित विद्यार्थी समुहले तालाबन्दी गरेका थिए ।

तत्पश्चात बाहिर रजिष्ट्रारका पक्षमा र विश्वविद्यालय परिसरमा पठन पाठन हुनुपर्छ भन्ने विद्यार्थीको समुहले चर्को नाराबाजीसमेत गरे । विश्वविद्यालय परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
उपकुलपति प्रा. डा. उपेन्द्र कोइराला र रजिष्ट्रार डा. मल्लको चपेटामा विश्वविद्यालय पर्न नहुने विद्यार्थी र सरोकारवालाहरुको मत छ । 
 

salt training

कमेन्ट गर्नुहोस्