
काठमाडौं –भारतका लागि प्रस्तावित राजदूत नीलाम्बर आचार्यको संसदीय सुनुवाईका क्रममा सांसदहरूले नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे प्रश्न गरेका छन् । छिमेकी फेर्न नसकिए पनि छिमेकीलाई बदल्न किन नसकिएको भन्दै प्रश्न गरेका हुन् ।
प्रस्तावित राजदूत आचार्यले आफ्नो भावी योजना सुनाइसकेपछि १० जना सांसदले प्रश्न गरेका थिए । प्रस्तुत छ, सांसदका प्रश्नको सार :
सुरेन्द्र पाण्डे: अर्थशास्त्रमा एउटा भनाइ छ– सबै गर्छु भन्नुको अर्थ केही नगर्नु हो । सबैतिर ध्यान केन्द्रित गर्नुभन्दा राजदूत भएर गइसकेपछि तपाईंको प्राथमिता के के हुन् ?
शिवकुमार मण्डल : नेपाल–भारत सम्बन्धमा समस्याको पहिचान भइसकेको छ । विगतका राजदूतले भन्दा के फरक काम गरेर क्रमभंगता गर्नुहुन्छ ? राजनीतिक परिवर्तनको उचाईलाई नेतृत्व प्रदान गर्ने गरी कसरी काम गर्नुहुन्छ ?
ज्ञानेन्द्रबहादुर कार्की : राजदूतको पद जागिर जस्तो बनिरहेको समयमा पदीय गरिमा कसरी कायम गर्नुहुन्छ ? नेपाल भारतको डुवान समस्या समाधानका लागि के गर्नुहुन्छ ?
पार्वत गुरुङ : भारतको विरोध गरेर क्रान्तिकारी नेता बन्ने प्रवृत्ति छ । नेपाली जनता सधैँ भारत विरोधी र नेता भारत नजिक बन्ने प्रवृत्ति छ । मन्त्री, राजदूत र संवैधानिक समितिको सभापति भइसकेको व्यक्ति फेरि किन राजदूत पदको लोभ गर्नुभयो ?
जितेन्द्र नारायण देव : नेपाल भारत सम्बन्ध राजनीतिक स्तरमा विश्वासयोग्य भइसकेको छैन । नेपाल–भारत राजनीतिक सम्बन्ध सुधार्न र आशंका दूर गर्नका लागि के प्राथमिकता छन् ?
अमृता थापा : नेपाल–भारत सम्बन्ध सुधारको कामका लागि तपाईंको उमेरका कारण इनर्जीमा केही असर पर्छ कि पर्दैन ?
योगेश भट्टराई : नेपाल भारत सम्बन्धमा केही अत्यासलाग्दा परिदृष्य छन् । छिमेकी फेर्न त सक्दैनौं नै, तर बिडम्वना ! छिमेकीलाई बदल्न पनि सकेनौं । छिमेकीको मनोवृत्ति बदल्न सकिन्छ, त्यसमा सफलता प्राप्त होस् ।
भारतका लागि राजदूत बन्ने भनेको चीनका लागि पनि राजदूत बन्नु हो । दिल्लीमा बसेर बेइजिङसँगको सम्बन्ध सुधार्न के गर्नुहुन्छ ? भारतमा रहेको झण्डै ४० लाख नेपालीको सुरक्षा तथा भारतीय सेनामा कार्यरत सैनिकलाई भारतीय सरह सेवा सुविधाका लागि के पहल गर्नुहुन्छ ?
भीमसेनदास प्रधान: मानन्धर समूहबाट नेकपाको राजनीति गरेको, पछि नेपाली कांग्रेसको तर्फबाट सांसद् बनेको र अहिले नेकपाको सरकारले राजदूत सिफारिश गरेको छ । श्रीलंकाको लागि राजदूत बनिसकेकाले भारतलाई यहाँले बुझ्नु भएको छ । आन्दोलनको समयमा समर्थन गर्ने र पछि आशंका गर्ने भारतको प्रवृत्ति रहेको पाइन्छ । प्रबुद्ध समूहको प्रतिवेदन लिन भारतले नमानेको कुरा छ । भारतलाई मनाएर प्रतिवेदन कार्यान्वयनमा तपाईंको भूमिका के हुन्छ ?
सांसदहरूको प्रश्नको जवाफमा आचार्यले नेपाल र भारतबीच रहेका आशंका निवारण गरी विश्वासको वाातवरण निर्माण गर्ने र नेपालबारेको भारतीय मानसिकता परिवर्तनका लागि आफूले भूमिका खेल्ने बताए ।
उनले नेपाल भारत सम्बन्ध सुधार्नका लागि पाको मानिस नै आवश्यक पर्ने र राजनीतिक पृष्ठभूमि भएको व्यक्ति महसुस गरेर सरकारले आफूलाई सिफारिश गरेको बताए । उनले नेपाल–भारत सम्बन्ध विस्तारका लागि आफनो उमेरले असर नगर्ने स्पष्ट पारे ।