
भक्तपुर– जुद्ध बारुणयन्त्र भक्तपुरका चार जना चालकले एकैपटक छाडेपछि भक्तपुरको दमकल चालकविहीन बन्न पुगेको छ । जुद्ध बारुणयन्त्र भक्तपुरका प्रमुख लक्ष्मण गुरागार्इंले शनिबार सबै चालकलाई छाडेर जान निर्देशन दिएपछि २४सै घण्टा ‘ड्युटी’ गरेर बस्ने चालक राजकुमार श्रेष्ठ, राजकुमार गिरी, विकास वनमाला र राज कपालीले कार्यालय छाडेपछि दमकल चालकविहीन बन्न पुगेको हो ।
नौ दिनपछि शनिबार कार्यालय आएका प्रमुख गुरागाईंसँग दमकलका चालकले डेढ महीनाअघिदेखि रोकिएको दमकल मर्मतको रकम माग गर्दा हप्काएर मर्मतको रकम नदिइ उल्टै छाडेर जान निर्देशन दिएपछि बाध्य भएर कार्यालय छाडनुपरेको चालकले बताएका छन् । चालक राज कपालीले दमकल चालकलाई मान्छे जस्तै व्यवहार नगर्ने र अत्यावश्यक साधनका रुपमा रहेको दमकलसमेत मर्मत गर्न नदिने कायालय प्रमुखले बिग्रिएर बनाएको दमकलको रकम भुक्तानी गरिदिन आग्रह गर्नेबित्तिकै छाडेर जान निर्देशन दिएको गुनासो गरे ।
उनले भने, “म तिमिहरुको हामिक, मलाई नरोधी दमकल बनाउँछौँ, तिमीहरु जस्ता चालक चाहिँदैन, म नेपाली सेना र सशस्त्रबाट ड्राइभर म गाउँछु तिमीहरु बस्नु पर्दैन जाओ भन्नुभयो, त्यसपछि हामी गएका हौँ ।” अर्का चालक विकास त्वायनाले कार्यालय प्रमुख गुरागार्इं कहिले काही मात्रै आउने गरेको र दमकल मर्मत गर्दा टिक क्याप्टेन, सूचना अधिकारीलाई जानकारी गराएर कार्यालयको कर्मचारी साथै लगेर मर्मत गराउने गरेको बताए ।
कार्यालय प्रमुखले बजेट नदिए पनि चालक आफैँले पैसा हालेरसमेत कतिपय अवस्थामा दमकल मर्मत गर्नुपरेको गुनासो गर्दै उहाँले दमकल जस्तो अत्यावश्यक साधनलाई उहाँले गम्भीररुपमा नलिएको गुनासो गरे । अर्का चालक राजकुमार श्रेष्ठले विगतमा प्रत्येक महीना स्टाफ बैठक हुने र कार्यालयमा आएका समस्याका बारेमा छलफल गर्ने गरे पनि गत जेठदेखि एकपटक पनि बैठक नबसेको गुनासो गरे ।
उनले भने, “हामी २४ घण्टा ड्यिुटी गर्छौं, हाकिम कहिले आउँछन् कहिले आउँदैनन्, उहाँ नआउँदा दमकल बनाएर तयारी अवस्थामा राख्ने कि उहाँलाई कुर्ने ? उहाँ जतिदिन नआए पनि हामीलाई चासो छैन, दमकलको काम नरोकिए हुन्थ्यो ।” गत जेठ १५ गते गुरागाईं कार्यालय प्रमुख भएर आएपछि पाँच जनाले राजीनामा दिएका छन् भने दुई वटा दमकल र एक पानी ट्याङ्की चालू अवस्थामा रहेकामा अहिले एउटा दमकल मात्रै चालू छ, अरु बिग्रिएर थन्किएका छन् ।
कार्यालयमा २४ घण्टा ड्युटी गरेको राशन लिने गरे पनि कार्यालयमा भने एक साताको एकैपटक हाजिर गर्ने र नआउने गरेको कर्मचारीको गुनासो छ । कार्यालयका सूचना अधिकारी विजय धौभडेलले बिग्रिएका दमकल मर्मत गर्न एक महीना अगाडि नै निवेदन दिए पनि सुनुवाइ नहुँदा दमकल थन्किएर बसेको बताए । कार्यालय अहिले समस्याले जकडिएको बताउँदै उनले दमकल जस्तो अत्यावश्यक साधनलाई २४सै घण्टा तयारी अवस्थामा राख्नुपर्नेमा त्यसो हुन नसकेको स्वीकारे ।
चालकले छाडेपछि आइतबार यहाँको समस्या लिएर प्रमुख जिल्ला अधिकारी नारायण भट्टलाई जानकारी गराएको र उनले छाडेका चालकलाई फर्काउन भनेपछि चालकलाई आफूले बोलाएको बताए । उनले यहाँको समस्याका बारेमा शनिबार प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई समेत जानकारी गराएको बताउँदै कुनै हालतमा दमकललाई २४ सै घण्टा तयारी अवस्थामा राख्न निर्देशन दिएको धौभडेलले जानकारी दिए ।
भक्तपुर मात्र नभई उपत्यका, काभ्रे, सिनधुपाल्चोक, रामेछाप, तातोपानीसम्म आगो निभाउन पुग्ने गरेको यहाँका दमकल बिग्रिएर थन्किएपछि ठूलो आगलागी भए के गर्ने भन्ने अन्योलमा रहनुपरेको धौभडेलको भनाइ छ ।