११ साउन २०८३, सोमबार

अस्ट्रेलियाविरुद्ध पहिलो टेस्टमा भारत विजयी, शृंखलामा १–० को अग्रता

मंसिर २४, २०७५
अस्ट्रेलियाविरुद्ध पहिलो टेस्टमा भारत विजयी, शृंखलामा १–० को अग्रता

काठमाडौं — अस्ट्रेलिया भ्रमणमा रहेको भारतले शृंखलाको पहिलो टेस्ट ३१ रनले जितेको छ । 

एडेलेडमा सोमवार सम्पन्न टेस्टमा ३२३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २९१ मा अलआउट भएको हो । 

भारतलाई विजय दिलाउनमा चेतेश्वर पुजाराको प्रमुख भूमिका रह्यो । पहिलो इनिङमा शतक बनाउने क्रममा उनले १२३ रन बनाए भने दोस्रो इनिङमा ७१ रनको योगदान गरे ।

त्यस्तै भारतका बलरहरू रविचन्द्रन अश्विन, मोहम्मद शमी र जसप्रीत बुमराहको पनि जीतमा योगदान रह्यो ।

भारतका विकेटकीपर ऋषभ पन्तका लागि यो टेस्ट निकै यादगार रह्यो । उनले म्याचमा कुल ११ विकेट लिए ।

टस जितेर ब्याटिङको निर्णय लिएको भारतले पहिलो इनिङमा कुल २५० रन बनायो । अस्ट्रेलियाली बलरहरूको घातक बलिङका कारण लगातार विकेट गुमाएको भारतलाई पुजाराको शतकले नै सम्मानजनक स्कोरमा पुर्‍याएको हो । 

पुजारापछिको सर्वाधिक स्कोर रोहित शर्माले बनाए । उनको नाममा ३७ रन रह्यो ।

अस्ट्रेलियाका लागि जोश हेजलवूडले तीन अनि मिचेल स्टार्क, प्याट कमिङ्स र नाथन लियोनले दुई दुई विकेट लिए ।

जवाफमा अस्ट्रेलिया पहिलो इनिङमा २३५ रनमा समेटियो । ट्राभिस हेडले सर्वाधिक ७२ रन बनाए भने पिटर ह्यान्ड्सकम्बको ३४ रन दोस्रो ठूलो स्कोर रह्यो । 

भारतीय बलरहरूले अस्ट्रेलियाका ब्याट्स्म्यानलाई खुलेर खेल्न दिएनन् । बुमराह र अश्विनले तीन तीन अनि इशान्त शर्मा र शमीले दुई दुई विकेट लिए ।

कुल १५ रनको अग्रताका साथ दोस्रो इनिङ शुरू गरेको भारतले ३०७ रन जोड्यो । पुजाराको ७१ रनका अलावा अजिंक्या रहाणेको ७० र लोकेश राहुलको ४४ रन बन्यो ।

नाथन लियोनले प्रभावशाली बलिङ गर्दै १२२ रन खर्चेर ६ विकेट लिए । अनि स्टार्कले तीन र हेजलवूडले एक विकेट हात पारे । 

जीतका लागि ३२३ रन पछ्याउने क्रममा अस्ट्रेलियाले राम्रो शुरूआत गरेन । उसले ८४ रन बनाउँदा नै चार विकेट गुमायो । 

शन मार्शले सर्वाधिक ६० रन बनाए भने टम पेनले ४१ रन बनाए । नाथन लियोनले भारतलाई जीतका लागि प्रतीक्षा गराउने क्रममा ३८ रन बनाए तर त्यो हार टार्न पर्याप्त रहेन ।

भारतका लागि बुमराह, अश्विन र शमीले तीन तीन विकेट लिए भने इशान्त शर्माको नाममा एक विकेट रह्यो ।

शृंखलाको दोस्रो टेस्ट शुक्रवारबाट पर्थमा शुरू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्