काठमाडौं– गत शुक्रबारबार प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद’लाई दर्शकले रुचाएका छन् । चलचित्रकर्मी तथा समीक्षकबाट पनि चलचित्रलाई राम्रो प्रतिक्रिया मिलेको छ ।
यसैबीच हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले ‘प्रसाद’ मौलिक कथामा उत्कृष्ट चलचित्र बनेको प्रतिक्रिया दिएका छन् । आइतबार साँझ सिभिल मलमा चलचित्र हेरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै उनिहरुले ‘प्रसाद’ सबै दर्शकले हेर्नुपर्ने चलचित्र बनेको बताए । यो जोडीले चलचित्रको कथा, प्रस्तुती, कलाकारको अभिनय, निर्देशकको मिहिनेतको खुलेरै प्रशंसा गरे ।
‘धेरैपछि एउटा पृथक चलचित्र हेरियो अर्थात आज मिठो ‘प्रसाद’ ग्रहण गरियो’, सितारामले भने,–‘मौलिक कथामा हाम्रै घर आँगनमा घटिरहेको घटनालाई सरल तरिकाले देखाइएको छ । चलचित्र हेरिरहँदा समय बितेको पत्तै भएन ।’
कुञ्जनाले कलाकारहरुको हार्डवर्कको खुलेर प्रशंसा गरिन् । ‘नम्रतालाई अहिलेसम्मकै पृथक भूमिकामा हेर्न पाए’ उनले भनिन् –‘विपिन त ‘एभर ग्रिन एक्टर’नै हो । उसको अभिनयले मन छोयो ।’ उनले सामाजिक कथामा चलचित्र बनेको हुनाले समाजमा बस्ने हरेक व्यक्तिले ‘प्रसाद’ हेर्नुपर्ने बताईन् ।
चलचित्रका निर्देशक दिनेश राउत, अभिनेत्री नम्रता श्रेष्ठ, निर्माता सुभाष थापा, लेखक सुशील पौडेल दर्शक प्रतिक्रिया बुझन् हल पुगेका थिए । उनिहरु धुर्मुस र सुन्तलीको सकारात्मक प्रतिक्रियाबाट उत्साहित देखिए । ‘सबैबाट निकै राम्रो प्रतिक्रिया पाईरहेकी छु । अत्यन्तै सुखी छु’– नम्रताले भनिन् । निर्देशक राउतले सबैबाट राम्रो प्रतिक्रिया पाउनु नै आफूहरुको सफलता रहेको बताए । उनले यो प्रतिक्रियाबाट आफूमा अझ बढी जिम्मेवारी थपिएको प्रतिक्रिया दिए । लेखक सुशीलले आफूहरुले दिन खोजेको ‘कन्टेन्ट’लाई चलचित्रकर्मी, समीक्षक तथा दर्शकले रुचाएकोमा खुसी ब्यक्त गरे ।
अन्तरजातिय विवाह गरि काठमाडौं छिरेको एक दम्पत्तीको जीवनमा सन्तान नहुँदा आउने उदार चढावलाई चलचित्रमा देखाइएको छ । चलचित्रमा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत मुख्य भूमिकामा प्रस्तुत छन् ।