
काठमाडौं — भुटानलाई अन्तर्राष्ट्रिय सुन तस्करहरूले ट्रान्जिट मुलुकका रूपमा प्रयोग गर्न थालेपछि भारत चिन्तामा परेको छ । यसअघि नेपालको बाटो हुँदै सुन तस्करी हुने गरेकोमा अहिले तस्करहरूले भुटानको बाटो प्रयोग गर्ने गरेका छन् ।
भारतको डिरेक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्सले भुटानको बाटो भएर तस्करी गरिएको ६६ किलो सुन जफत गरेको छ । त्यसको मूल्य ३४ करोड रुपैयाँ आँकिएको छ । लखनउ, कोलकाता र सिलिगुडीमा फरक फरक अपरेसनमार्फत
यसलाई जफत गरिएको हो ।
भुटानको बाटो भएर गरिएको सुन तस्करीको यो पहिलो घटना हैन । विगत केही समययता एजेन्सीले दर्जनौं भुटानी नागरिकलाई तस्करीको अपराधमा पक्राउ गरिसकेको छ ।
जमीन नाका भएर यो तस्करी हुने गरेको छ । सामान्यतया भुटानलाई अपराध नहुने मुलुकका रूपमा लिइन्छ तर केही समययता भुटानी नागरिकहरू पक्राउ पर्न थालेपछि भारतको तनाव बढेको छ ।
सन् २०१७–१८ मा डीआरआईले ३२ सय किलो सुन जफत गरेको छ । यत्तिका सुन तस्करी गरेर ल्याइएको हो । यीमध्ये अधिकांश सुन भुटान र म्यान्मारबाट ल्याइएको हो । भारतीय अधिकारीहरूका लागि भुटानको बाटो भएर हुने
तस्करी चिन्ताको विषय हो ।
यो तस्करीमा अन्तर्राष्ट्रिय सुन तस्कर सिन्डिकेटको संकेत भारतीय अधिकारीहरूले पाएका छन् । अन्तर्राष्ट्रिय स्तरमा यो तस्करीको कामलाई व्यवस्थित तरिकाले गरिएको आशंका छ ।
सुन तस्करी गर्ने सिन्डिकेटले त्यही बाटो प्रयोग गरेर हतियार र लागूऔषध पनि तस्करी गर्ने हुन कि भनी भारतले चिन्ता गरेको छ ।
एजेन्सी