२० असार २०८३, शनिबार

कांग्रेसमा गुटभित्रै तनाव : पौडेलभन्दा देउवालाई हाइसञ्चो !

मंसिर २४, २०७५
कांग्रेसमा गुटभित्रै तनाव : पौडेलभन्दा देउवालाई हाइसञ्चो !

काठमाडौं– महासमिति बैठक नजिकिँदै जाँदा नेपाली कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेल पक्षीय गुटको विवाद सतहमै देखिएको छ । पौडेल पक्षीय नेताहरूले आइतवार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भेला भएर संस्थापन पक्षलाई कसरी टक्कर दिने भन्ने विषयमा छलफल गरेको विषयलाई संचारमाध्यमहरूले अहिलेको ‘हट इस्यु’ बनाइरहेका छन् ।

सभापति शेरबहादुर देउवालाई कमजोर बनाउने र आफ्ना गुटका नेताहरूको व्यवस्थापन गर्नका लागि त्यही अनुरूप विधान संशोधन गर्न दबाव दिन खोजेको आरोप रामचन्द्र पौडेल गुटलाई लागेको छ । तर आश्चर्य के छ भने, दुवै पक्षका नेताहरू कांग्रेसलाई ‘बलियो’ बनाउन लागिपरेको दलील दिन छाड्दैनन् ।

सभापति देउवाको मूड 

अहिले संस्थापन पक्षमा जो-जो पदाधिकारी छन्, तिनैलाई लिएर महाधिवेशनमा जान देउवालाई सजिलो छ ।  तर संस्थापन इतरका नेताहरूले आफूलाई केन्द्रबिन्दुमा राखेर विधान बनाउनुपर्छ भन्ने सोचाई राखेको देखिन्छ । 'पार्टीको स्वार्थलाई केन्द्रमा राखेर विधान र पद्धति लागू हुनुपर्ने हो, तर अहिले व्यक्तिकेन्द्रित राजनीति हावी छ,' कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडा भन्छन् ।

नेताहरूले ‘म यो ठाउँमा पुगेको नेपाली कांग्रेसका कारणले हो’ भन्ने कुरा बिर्सिएको जस्तो देखिएको उनको तर्क छ । उनले भनेजस्तै धेरै नेताको स्वाभाव, चालढाल हेर्ने हो भने कांग्रेस यो ठाउँमा पुगेको आफ्नै कारणले हो भन्ने भ्रम अधिकांशमा देखिन्छ ।

चरम सत्तालिप्साले ग्रसित रहेको भनिएको नेपाली कांग्रेसमा भविष्यमा कसैलाई मन्त्री हुनुछ, कसैलाई मुख्यमन्त्री हुनुछ, कसैलाई प्रधानमन्त्री हुनुछ, तर सबै हुनका लागि संगठन बलियो चाहिन्छ । संगठन बलियो बनाउनका लागि व्यक्तिकेन्द्रित राजनीति त्याग्नुपर्छ ।

यो लडाईं चौधौं महाधिवेशनमा केन्द्रित भएर शुरू भएको हो । विधानलाई संघीय संरचनामा लैजान कुनै गाह्रो विषय होइन तर विधान संशोधनलाई देखाएर मेरो गोरुको बाह्रै टक्का भन्ने प्रवृत्ति कांग्रेसभित्र हावी भएको जस्तो देखिएको छ ।

सभापति देउवा भने आगामी महाधिवेशनसम्म विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का र बिमलेन्द्र निधीलाई लिएर अघि बढ्न चाहन्छन् । देउवाको मूड अनुसार नै बाँकी सबै नेता चल्छन् भन्ने चाहिँ छैन ।

पौडेललाई गुटका व्यवस्थापनको चिन्ता 

रामचन्द्र पौडेल पक्षमा भने नेताहरूको व्यवस्थापनमै चुनौती देखिन्छ । नेताहरूको व्यवस्थापनका लागि पदाधिकारीको संख्या बढाउनुपर्ने बाध्यता देखिन्छ ।

संस्थापन निकट मानिने अर्का एक नेता भन्छन्- 'पौडेल गुटमा नेताहरू व्यवस्थापन गर्न नै गाह्रो छ । रामचन्द्र उठ्दा प्रकाशमान के हुने, प्रकाशमान उठ्दा शेखर के हुने, शेखर उठ्दा शशांक के हुने, शशांक उठ्दा कृष्ण सिटौला के हुने, सिटौला उठ्दा रामशरण के हुने ?'

उनका अनुसार आफ्नै पक्षमा यस्ता यावत विवाद कायम रहँदा सभापति देउवाको मात्र विरोध गरिरहनु स्वभाविक नभएको उनको तर्क छ । अहिले तुलनात्मक रूपमा हेर्दा सभापतिले आफ्नो पक्षमा सबैलाई मिलाएर राखेका छन् ।

नेताहरूको व्यवस्थापनका लागि उपसभापति, महामन्त्री लगायतका पदहरूको संख्या बढाउनुपर्छ भन्ने बहस चल्नु कांग्रेसका लागि घातक हुन सक्छ । सभापति देउवाले यो अवस्थामा बढी नबोली आफूइतरका नेताहरूलाई गलाउने रणनीति लिएका छन् ।

चाक्सीबारी इफेक्ट 

चाक्सीबारी भेलामा स्पष्ट रूपमा व्यक्ति केन्द्रित छलफल भएको सन्देश गएको छ । पार्टीभित्र यसरी गुट उपगुटका अलग-अलग भेला हुन थालेपछि इतिहासमा सबभन्दा कमजोर बनेको पार्टी नेपाली कांग्रेस अझ बढी कमजोर बन्छ कि भन्ने चिन्ता आम नेता तथा कार्यकर्तामा फैलिएको छ ।

नेपाली कांग्रेसभित्र हरेक नेताका आफ्ना-आफ्नै टीम छन्, प्रकाशमान सिंहको छुट्टै, रामचन्द्रको छुट्टै, शशांकको छुट्टै । गुट बलियो बनाउने कि पार्टी बलियो बनाउने हो भन्ने लडाईंमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसभित्रको विवादले अघोषित गुट सिर्जना गरेको थियो, तर चाक्सीबारीमा गरिएको संस्थापनइतर गुटको भेलाले कांग्रेस भित्रको गुटबन्दीलाई घोषित रूपमै सतहमा ल्याइदिएको छ ।

सदस्यता लिने प्रक्रियामै लडाईं

नेपाली कांग्रेसमा अहिले साधारण र क्रियाशील सदस्य भन्ने प्रावधान छ । विधान संशोधनका लागि तयार पारिएको मस्यौदामा एक प्रकारको मात्र सदस्यता राख्ने प्रस्ताव गरिएको छ । दुई प्रकारको सदस्यता हुनाले कार्यकर्ताहरू अन्यौलमा रहेको साँचो हो ।

साधारण सदस्यलाई भोटर मात्र मान्ने प्रचलन रहिआएको नेपाली कांग्रेसभित्र युवापुस्तालाई पार्टीप्रति आकर्षित गराउनका लागि पनि सबैलाई एकैखालको सदस्य मान्नुपर्ने धेरैको धारणा रहेको देखिन्छ ।

अहिलेको प्रस्तावित विधान संशोधनमा नेपाली कांग्रेसमा एकैखालको सदस्यता प्रकार रहनु एक हिसाबले सही हो । सदस्यतामा साधारण र क्रियाशील भनेर विभेदको राजनीति नगरौं भन्ने एकथरीको तर्क छ भने अर्कोथरीको पार्टी सदस्यता लिने बित्तिकै नेता बनाइदिने प्रचलन पनि ठीक होइन भन्ने तर्क गर्छन् ।

'नेपाली कांग्रेसका धेरै नेताहरू संघर्षबाट आएका छन् । राजनीतिको बारेमा केही नजानेको व्यक्ति पनि महासमितिमा आउने र ठूलै संघर्ष गरेर नेता बनेको व्यक्ति पनि महासमितिमा हुने प्रक्रिया ठीक होइन,' नेता खतिवडा भन्छन् । नेतृत्वले नीति बुझेको हुनुपर्छ । त्यसलाई एउटा क्राइटेरिया बनाएर यति वर्ष साधारण सदस्य भएको मान्छेमात्र यो तहमा पुग्न सक्ने भन्ने तरिकाले हल गाह्रो छैन ।

साथसाथै अन्य पार्टीबाट आएकालाई पनि व्यवस्थापन गर्नुपर्ने काम महत्त्वपूर्ण हो । तर नेपाली कांग्रेस जसले लोकतान्त्रिक आन्दोलनको धेरै पटक नेतृत्व गर्‍यो, त्यही पार्टीभित्र लोकतान्त्रिक पद्धति मर्दै जानु कांग्रेसका लागि पनि लाजमर्दो कुरा हो । 

दुईवटा चुनौती 

राजनीतिक विश्लेषकहरूका अनुसार नेपाली कांग्रेसमा दुईवटा चुनौती छन्, पहिलो आन्तरिक विवाद, दोस्रो प्रमुख र प्रभावकारी प्रतिपक्षको भूमिका निभाउनुपर्ने अवश्यकता । कांग्रेसकै कतिपय नेताहरू स्वीकार्छन्, नेताहरूमा अध्ययन कै कमी छ । केन्द्रीय समितिका एक नेताका अनुसार कांग्रेसका नेताहरू एक दुईवटा समाचार पत्र र एक दुईवटा अनलाइन समाचार पढेर आफ्नो धारणा बनाउँछन् ।

एक दुईवटा समाचार पढेकै भरमा मुलुकमा के भइरहेको छ भनेर पत्ता नलाग्न सक्छ । नेपाली कांग्रेसका नेताहरू संसदको प्रतिपक्षी बेञ्चमा बसेर सरकारको गलत रवैयाका विरुद्धमा बोल्न सकिरहेका छैनन् । बोल्न सक्ने नेताहरूलाई हराइयो, बोल्न नसक्ने नेताहरूका कारणले नेपाली कांग्रेस थप बदनामीको दिशातर्फ हिँडिरहेको छ, भन्नेमा दुईमत छैन । 

कर्मकाण्डी महासमिति ?

महासमितिको बैठक पनि एउटा कर्मकाण्डी प्रक्रिया मात्रै बन्ने खतरा छ । प्रत्येक वर्ष महासमिति बैठक हुनुपर्ने भनेर कांग्रेसको विधानमै उल्लेख गरिएको छ, तर हुन सकेको छैन ।

अहिले नेपालमा सबभन्दा बढी बेथिति बढेको पार्टी नेपाली कांग्रेस बनेको छ । कांग्रेसभित्रकै कतिपय नेताहरू के स्वीकार्ने गर्दछन् भने पार्टी विधानसम्मत चलेको छैन । यद्यपि अब हुन गइरहेको महासमितिले पारित गर्ने विधानको पनि पालना हुने ग्यारेन्टी देखिँदैन । 

आगामी मंसिर २८ गतेबाट हुने भनिएको महासमितिको बैठक तयारी चलिरहेको छ । तर महासमितिको बैठक हुनु र नहुनुले कुनै तात्विक भिन्नता नराख्ने कांग्रेसकै कतिपय नेताहरू बताउँछन् । अहिलेको खास विवाद १४औं महाधिवेशनपछि पार्टीको नेतृत्व कसले हत्याउने भन्ने विषयमा केन्द्रित छ । महासमिति बैठकले नेपाली कांग्रेसभित्रको थप विवाद बाहिर ल्याउन सक्छ ।

अहिले देखिएको गुट-उपगुटको विवादले नेपाली कांग्रेसलाई 'डम्पिङ साइट' बाहेक केही बनाउनेवाला छैन ।

salt training

कमेन्ट गर्नुहोस्