
काठमाडौं– राजश्व अनुसन्धान विभागले चालू आर्थिक वर्षका ४ महिनामा भन्सार छल्ने ४२ वटा फर्मविरुद्ध पौने ६ अर्ब रुपैयाँको विगो दावी गर्दै मुद्दा दायर गरेको छ ।
विभागले एक महिनाको अवधिमा ४२ फर्मविरुद्ध विभिन्न जिल्ला अदालतमा मुद्धा दायर गर्दै ५ अर्ब ७७ करोड १७ लाख ६ हजार १ सय ३६ रुपैयाँ ४० पैसा विगो माग दावी गरेको हो ।
एडीडास ब्राण्डको सामान आयातका क्रममा मितेरी इन्टरनेशनलले ७५ करोड रुपैयाँ राजश्व छली गरेको भेटिएको छ । मितेरी इन्टरनेशलले भेस्ट, कट्टुको आयातमा ७५ करोड रुपैयाँ राजश्व छली गरेको विभागले जानकारी दिएको छ ।
सो वस्तुको आयातमा आयातकर्तासँगको मिलेमतोमा राजश्व छलीमा सघाएको भन्दै दुई जना कर्मचारीविरुद्ध समेत मुद्धा दायर गरिएको विभागले जानकारी दिएको छ । रसुवा भन्सार कार्यालमा कार्यरत भन्सार अधिकृत पवित्रकुमार खड्का र नासु धिरजकुमार थापाले आयातकर्तासँगको मिलेमतोमा भन्सार छलीमा सघाएको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।
उनीहरुविरुद्ध राजश्व चुहावट ऐन २०५२ को दफा ३ बमोजिम कसुर गर्दै मुद्धा दायर गरिएको विागले जानकारी दिएको छ । जस अनुसार दुवै जनालाई जनही १५ करोड १९ लाख २६ हजार ३ सय ८१ रुपैयाँ ६८ पैसा विगो रकम सहित तीन वर्ष कैदको मागदावी गरिएको छ ।
मितेरी इन्टरनेशनलका प्रोप्राइटर रञ्जन त्रिपाठी र सुमन श्रेष्ठ पनि जनही १५ करोड १९ लाख २६ हजार ३ सय ८१ रुपैयाँ ६८ पैसा जरिवाना सहित ३ वर्ष कैदको माग दावी गरिएको छ ।
मितेरी इन्टरनेशनललाई ट्रक उपलब्ध गराउने धनबहादुर तामाङ र उक्त ट्रक चालक डम्बरबहादुर श्रेष्ठलाई पनि जनही १५ करोड १९ लाख २६ हजार ३ सय ८१ रुपैयाँ ६८ पैसा माग दावी गरिएको छ । उनीहरुलाई जनही डेढ वर्ष कैदको मागदावी गरिएको छ । उनीहरु दुवै जनालाई पनि राजश्व चुहावट ऐन २०५२ को दफा २ बमोजिम मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय हुन मुद्धामा माग गरिएको विभागले जानकारी दिएको छ ।
विभागले सुभान इन्टरनेशनल विरुद्ध १८ लाख विगो माग दावी गर्दै ३ वर्ष कैद माग दावी गरेको छ । सुभान इन्टरनेशनलले त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल भन्सार कार्यालयबाट सामान आयातका क्रममा ६ लाख २ हजार ९ सय ६९ रुपैयाँ बराबरको राजश्व छली गरेको भेटिएको हो । सुभानविरुद्ध १२ लाख ५ हजार ९ सय २० रुपैयाँ बिगो र जरिवाना माग दावी गरिएको छ ।
राजश्व छलीमा संलग्न भरतबहाुर अर्याल र सुशिला पाण्डे विरुद्ध जनही १२ लाख ५ हजार ९ सय २० रुपैयाँ विगो दावी गर्दै जनही ३ वर्ष कैद माग दावी गरिएको छ । सावित्रि श्रेष्ठ र कृष्णबहादुर श्रेष्ठ विरुद्ध पनि जनही १२ लाख ५ हजार ९ सय २० रुपैयाँ विगो दावी गर्दै जनही ३ वर्ष कैद माग गरिएको छ । उनीहरु सबै विरुद्ध गत कार्तिक २८मा जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरिएको हो ।
विभागले छिरिङ ङटुप लामा र लोप्साङ तेन्गे लामा विरुद्ध ५४ करोड २७ लाख ५७ हजार १ सय ५ रुपैयाँ सहित ३ वर्ष कैद माग दावी गर्दै विभागले जिल्ला अदालत गोरखामा मुद्धा दायर गरेको छ । उनीहरुबाट १० किलो ७ सय ७६ ग्राम सुन बरामद गरी भन्सार नतिरेको भन्दै जनही ९ करोड ८६ लाख ८३ हजार १ सय १० रुपैयाँ माग दावी गरिएको छ । उनीहरु विरुद्ध गत कार्तिक २७ मा जिल्ला अदालत गोरखामा मुद्धम दर्ता गरिएको विभागले जानकारी दिएको छ ।
त्यस्तै अरुण कुमार दास, रोशनकुमार महरा, विष्णुदेव राउत र विन्देश्वर राउतविरुद्ध विभागले २ अर्ब २० करोड ४२ लाख ६० हजार ९ सय २८ रुपैयाँ सहित ३ वर्ष कैदको मागदावी सहित मुद्धा दायर गरेको छ । उनीहरुले अवैधरुपमा विदेशबाट रकम भित्र्याउने गरेको अभियोगमा जनही ४१ करोड ३२ लाख ९८ हजार ९ सय २४ रुपैयाँ माग दावी सहित ३ वर्ष कैद माग दावी गरिएको छ ।
उनीहरुविरुद्ध विदेशी विनियम ऐन २०१९को दफा १७को उपदफा १ अनुसार गत कार्तिक २९ गते जिल्ला अदालत धनुषामा मुद्धम दायर गरिएको विभागले जानकारी दिएको छ ।
विभागले बहादुर तामाङ विरुद्ध १२ करोड ४५ लाख २५ हजार रुपैयाँ सहित ३ वर्ष कैदको माग दावी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । उनले अबैध रुपमा सुनको कारोबार गर्दै आएका थिए ।