
काठमाडौं– मिस नेपाल श्रृङ्खला खतिवडामिस वर्ल्ड प्रतियोगितामा सहभागी भएर बुधवार राति नेपाल फर्किएकी छन् ।
स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले ताज जित्न नसकेपनि सबैको माया जितेर फर्केको प्रतिक्रिया दिइन् ।
श्रृङ्खलाले ब्युटी विद् प्रपोज र मल्टिमिडिया अवार्ड गरी दुईवटा हवार्ड हात पारिन् । मिस वर्ल्डमा नेपालको यो अहिलेसम्मकै सफल सहभागिता हो । कुनै पनि नेपाली सुन्दरीले दुई अवार्ड जित्न सकेका थिएनन् ।
सन् २०१३ मा इशानी श्रेष्ठले ब्युटी विद् पर्पोज अवार्ड जित्दै शीर्ष १० मा स्थान बनाएकी थिइन् । ब्युटी विद् पर्पोज अवार्ड विजेतालाई त्यतिबेला सिधै शीर्ष १० मा लगिएको थियो ।
यसपटक फर्म्याट चेन्ज भएकाले श्रृंखलाले २ वटा अवार्ड जित्दा पनि उनलाई शीर्ष ३० मा मात्र राखियो । त्यसपछि उनले भारत, चीनजस्ता प्रभावशाली मुलुकका प्रतस्पर्धीलाई पछि पार्दै शीर्ष १२ मा स्थान बनाइन् । यसपटक शीर्ष १० को साटो शीर्ष १२ छनोट गरिएको थियो ।
ब्युटी विद् प्रपोज अवार्ड जित्दा आफूलाई ताज नै जितेजस्तो खुशी लागेको भन्दै उनले मल्टीमिडिया अवार्ड जिताउन सहयोग गर्ने सम्पूर्ण नेपालीलाई धन्यवाद दिइन् ।
नेपाललाई विश्वमा चिनाउने आफ्नो उद्देश्य केही हदसम्म पूरा भएको उनको विश्वास छ । ‘ताज नजिते पनि नेपाललाई विश्वसामु चिनाउँछु भन्ने थियो । चिनाएँ जस्तो लाग्छ,’ उनले भनिन् ।
मल्टीमिडिया अवार्डमा आफूलाई नेपालीहरूले गरेको भोट देखेर सबै आश्चर्यमा परेको उनले बताइन् ।
‘मलाई मिस वर्ल्डका अरु साथीहरूले भन्थे– के हो तिमी त नेपालमा पैसा तिररे भोट गर्न लगाउँछौ कि क्या हो ? यति धेरै भोट कसरी आयो ?' त्यो माया नै आफ्ना लागि ठूलो रहेको श्रृङ्खलाले बताइन् ।
श्रृंखलाले अब आफू ब्युटी विद् पर्पोज परियोजना अन्तर्गत मकवानपुरको कैलाश गाउँपालिकास्थित चेपाङ बस्तीमा निर्माणाधीन स्वास्थ्यचौकीलाई पूर्णता दिने काममा क्रियाशील हुने जानकारी दिइन् ।