२४ जेठ २०८३, आइतबार

रक्सी–चुरोट छाडेका राजेशपायल भन्छन्– मेरो विवाह पनि कहीँ न कहीँ त लेखिएकै होला नि !

मंसिर २७, २०७५
रक्सी–चुरोट छाडेका राजेशपायल भन्छन्– मेरो विवाह पनि कहीँ न कहीँ त लेखिएकै होला नि !

काठमाडौं– परिवार ब्रिटिस आर्मी पृष्ठभूमिको थियो । बुवा पहिले ब्रिटिस आर्मीमै थिए । दाइहरू पनि ब्रिटिस आर्मीमै । तर उनी घरमा अरु भन्दा फरक निस्किए ।

हामी कुरा गर्दैछौं चर्चित गायक राजेशपायल राईको । राजेश बाल्यकालमा हुँदा बुवा रेडियो नेपालमा बज्ने समाचार खुब सुन्थे । तर राजेशको ध्यान भने त्यही रेडियोमा बज्ने गीतसंगीतले तान्थ्यो ।

उनी अहिले पनि सम्झन्छन्, ‘रेडियो नेपालबाट दिउँसो ३ बजे बज्ने गीतसम्बन्धी कार्यक्रम ‘फर्माइस’ म खुबै सुन्थें ।’

‘रेडियोभित्र कस्ता मानिसले गीत गाउँछन् होला ?’ उनीमा बालसुलभ कौतुहलता थियो । रेडियोमा बज्ने गीतहरू सुन्दै उनले गुनगुनाउन सिके । गाउँमा, विद्यालयमा गीत गाउँथे । साथीहरूले हौसला दिन्थे, ‘तेरो स्वर राम्रो छ । तँ अब रेडियो नेपालमा गएर गाउनुपर्छ ।’ 

सो समय गीत गाउनका लागि रेडियो नेपालबाट लिइने स्वर परीक्षाको खुड्किलो पार गर्नुपथ्र्यो । खोटाङको बुइपामा जन्मेका राजेश सोही स्थानकै विद्यालयमा कक्षा ९ मा पढ्दै गर्दा स्वर परीक्षा दिन काठमाडौं आए ।

२०४५/४६ सालतिर रेडियो नेपालबाट स्वर परीक्षा पास गरे । सोही वर्ष उनले आफ्नो पहिलो गीत रेकर्ड गराए, ‘सम्झनाको कुरा नगर ।’ स्कूल जीवनमै गीत रकेर्ड गरेका राजेश एसएलसीपश्चात काठमाडौं बस्न थाले र संगीतलाई आफ्नो भविष्य बनाए । 

उनले दोस्रो गीत ल्याए, ‘कसरी आँखा जुध्यो ।’ त्यसपश्चात राजेशले २०४९/५० सालताका तेस्रो गीत रेकर्ड गराए, ‘फैलियो माया दुबोसरी ।’ गीत राम्रो चल्यो । ‘जुन गीतपश्चात म कहिल्यै पछाडि फर्कनुपरेको छैन,’ राजेश भन्छन् ।

उनले २०५२ सालमा पहिलोपटक चलचित्र ‘गरीब’मा आफ्नो स्वर दिने अवसर पाए । त्यसपश्चात राजेश पाश्र्व गायनमा प्रिय गायक बने । उनले झण्डै ५ सय चलचित्रका १५ सयभन्दा बढी गीतमा आफ्नो स्वर भरिसकेका छन् । उनको स्वरमा हालसम्म ६ हजारभन्दा बढी गीत सार्वजनिक भइसकेका छन् ।

जीवनकै ठूलो त्यो भूल...

राजेश झण्डै २० वर्षअघि हङकङकमा आयोजिक एक कन्सर्टमा सहभागी थिए । त्यहाँ प्रस्तुति दिनुअघि उनले अत्यधिक मदिरा सेवन गरे ।

राजेश सम्झन्छन्, ‘त्यहाँ धेरै मदिरा सेवन गरेर मैले गीत गाउन नसकेको मलाई जीवनकै ठूलो भूल लाग्छ ।’

राजेश कार्यक्रममा प्रस्तुति नदिई नेपाल फर्किए । उनलाई पछि धेरै पश्चाताप लाग्यो । ‘धन्न मेरो भूललाई आयोजक, आम श्रोता र दर्शकले विनम्रताका साथस्वीकार गरिदिनुभयो,’ उनी सन्तोषको श्वास लिन्छन् । 

अहिले त स्वर सुकेपनि मदिरा पिउँदिन 

राजेशले अहिले मदिरा सेवन गर्न छोडिसकेका छन् । ६/७ वर्ष भयो उनले मदिरा छाडेको । कुनै समय नसामा लठ्ठिएर गीत गाउने राजेश अहिले आफू रक्सी र चुरोट दुवैबाट टाढा रहेको बताउँछन् ।

‘जीवन यसै खेर फाल्नु हुँदैन भन्ने सोचेर निकै कष्टका साथ रक्सी, चुरोट पिउन छाडेको हुँ,’ राजेश भन्छन्, ‘अहिले त स्वर नै सुकेपनि रक्सी पिउँदिन ।’ मदिरा पिएपछि स्वर सुक्दैन भन्नेहरू पनि छन् । तर राजेश त्यो बुझाइ गलत भएको बताउँछन् । मदिरा पिउन छाडेपछि आफ्नो स्वास्थ्यमा पनि सुधार आएको उनको अनुभव छ ।

विवाहको दबाव, भन्छन्– ‘यसको जिम्मा लेखान्तमा’ 

राजेशलाई विवाहका लागि दबाव आउन थालेको ८/९ वर्ष भइसक्यो । परिवार, आफन्त, साथीभाइले उनलाई विवाहका लागि दबाव दिने गरेका छन् । राजेश आफ्नो विवाह नहुनुलाई संयोग नजुरेको मान्छन् । ‘मलाई भगवानले हरेक चिज पूरा गरिदिनुभएको छ,’ उनी भन्छन्, ‘अब विवाह पनि कहीँ न कहीँ लेखिएकै होला ? समय आएपछि पक्कै हुनेछ ।’ 

राजेशको प्रेमको हल्ला बेलाबेलामा नायिका रेखा थापा, केकी अधिकारीसँग पनि जोडिएर आउने गर्छ । तर रेखा र केकीसँग कलाकारिता बाहेक अन्य सम्बन्ध नभएको राजेश बताउँछन् । भन्छन्, ‘उहाँहरू दुवैसँग मेरो पवित्र र प्रगाढ सम्बन्ध छ । तर कलाकारिता बाहेकको छैन ।’ 

म भाग्यमानी गायक, योजना कहिल्यै बनाउँदिनँ

भर्सटायल गायकको परिचय बनाएका राजेशले चलचित्रसँगै आधुनिक, लोक, पप र गजल फ्लेवरका गीत पनि गाएका छन् । उनले प्रायः गीतबाट श्रोता तथा दर्शकको माया बटुल्दै आएका छन् ।

उनको व्यस्तता नेपाल र विदेशमा आधाआधा हुन्छ । विदेशको कार्यक्रम सकेर एकसाता अघिमात्रै नेपाल आएका राजेश अंग्रेजी नयाँवर्षमा पुनः थुप्रै देश पुग्दैछन् । उनको अहिलेको तयारी ‘दर्शन नमस्ते ४’ एल्बमको छ । भन्छन्, ‘मुम्बइमा रेकर्डिङ भइसकेको छ । यहाँ डिजाइन र पोस्ट प्रोडक्सनको काम भइरहेको छ । एक महिना भित्रमा सार्वजनिक हुन्छ ।’ 

राजेशपायलसँग एक दिनमा ९ वटासम्म गीत रेकर्ड गराएको इतिहास पनि साक्षी छ । ‘२०६२/६३ सालताका विराटनगरको स्टूडियोमा ५ घण्टामा ९ वटा गीत रेकर्ड गरेको थिएँ,’ राजेश सम्झन्छन्, ‘शायद एक दिनमा सबैभन्दा धेरै गीत रेकर्ड गर्ने गायक मै हुँला ।’ 

राजेश ६० भन्दा बढी देश पुगिसकेका छन् भने देशभित्र ६५ भन्दा बढी जिल्लामा पुगेर आफ्नो स्वरको जादू छरिसकेका छन् । राजेश गायन आफ्नो धर्म, यात्रासँगै सहयात्रा भएको बताउँछन् । संगीत क्षेत्रमा आफ्नो विगत जसरी बित्यो भविष्य पनि त्यसैगरी बित्ने उनको अपेक्षा छ ।

‘म कहिल्यै पनि योजना बुनेर काम गर्दिनँ,’ उनी भन्छन्, ‘सबै योजना भगवानले बनाइदिने हो । म त त्यसलाई कर्तव्यका साथ पालना गर्ने मात्र हो ।’ राजेश आफूलाई भाग्यमानी गायकको संज्ञा दिन्छन् । 

भन्छन्, ‘संघर्षका दिनलाई छाड्ने हो भने मैले गाएका गीत श्रोता दर्शकले रुचाउनुभएको छ । मेरा हरेक कन्सर्टहरू राम्रा भइरहेका छन् । सांगीतिक कार्यक्रममा व्यस्त बनिरहेको छु । देश, विदेश घुम्न पाइरहेको छु । यस अर्थमा म आफूलाई भाग्यमानी गायक सम्झन्छु ।’
 

salt training

कमेन्ट गर्नुहोस्