
काठमाडौं — टर्कीमा तीव्र गतिमा गुडिरहेको एक ट्रेन बिहीवार अर्को रेलसँग ठोकिँदा नौजनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।
उद्धारकर्मीहरूले रेलको बोगीमा च्यापिएका मानिसको उद्धार गरिरहेका छन् । मार्सान्डिज ट्रेन स्टेसनमा यो दुर्घटना भएको हो ।
दुर्घटना स्थानीय समयअनुसार, बिहान साढे ६ बजे भएको हो । ट्रेन अंकाराबाट कोन्या जाँदै थियो । मार्सान्डिज स्टेसन अंकारा ट्रेन स्टेसनबाट लगभग आठ किलोमिटर पर छ ।
अंकाराका गभर्नर भासिप साहिनले यो दुर्घटना तीव्र गतिको ट्रेनले स्टेसनको ट्य्राक परीक्षण गरिरहेको इन्जिनमा ठोकिएपछि भएको पत्रकारहरूलाई बताए ।
निजी एनटीभी च्यानलले कम्तीमा दुईवटा डिब्बा ट्य्राकबाट बाहिरिएको जनायो । ट्र्ेनको डिब्बा ठोकिएपछि स्टेसनको ओभरपासका केही भाग ट्रेनमाथि खसेका थिए ।
दुर्घटना हुँदा ट्रेनको गति कति थियो भन्ने प्रस्ट हुन सकेको छैन ।
घाइतेमध्ये तीनजना यात्रुको अवस्था गम्भीर भएको बताइएको छ ।
घटनाको अनुसन्धान शुरू भएको हो ।
एजेन्सी