
काठमाडौं– गाई तथा भैंसीबाट दूध दुहेको दुई घण्टा भित्रै चिस्यान केन्द्रमा पु¥याउनु पर्ने गरी सरकारले दुग्ध पदार्थ निर्देशिका जारी गरेको छ । दूध दुहेको दुई घण्टा भित्रै चिस्यानमा नपु¥याए दूध गुणस्तरहीन मानिने गरी सरकारले दूध तथा दुग्ध पदार्थको स्वच्छता एवंम गुणस्तर निर्देशिका २०७५ जारी गरेको हो । यो सँगै कुनै पनि किसानले दूध दुहेको दुई घण्टा भित्रै चिस्यानमा पु¥याइसक्नु पर्ने छ ।
त्यस्तै दूध दिने पशु स्वस्थ हुनु पर्ने लगायतका मापदण्ड समेत निर्देशिकामा उल्लेख गरिएको छ । निर्देशिकामा दूध दिने गाई वा भैंसी निरोगी हुनु पर्ने र दूध दुहुने व्यक्ति स्वस्थ हुनु पर्ने मापदण्ड तोकिएको छ ।
पशुलाई खुवाउने दाना स्वच्छ हुनु पर्ने, गुणस्तर र पोषणयुक्त हुनु पर्ने निर्देशिकामा उल्लेख गरिएको छ । त्यस्तै दूध दुहुने भाँडो सभा सुग्घर हुनुपर्ने, कुहिएको वा ढुसी परेको खाद्य पदार्थ वा आहार पशुलाई खुवाउन नहुने व्यवस्था निर्देशिकामा गरिएको छ ।
त्यस्तै दूधमा पानी लगायत अन्य बाह्य वस्तु मिसावट गर्न निर्देशिकाले निषेध गरेको छ । दूध ढुवानीमा प्लाष्टिक भाँडाको सट्टा आल्मूनियम तथा स्टिलको भाँडा प्रयोग गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
निर्देशिका अनुसार दूध प्याकिङका क्रममा रबरको प्रयोग गर्न पाइने छैन । त्यस्तै दूध प्रशोधन गर्ने ठाउँमा आगन्तुकलाई प्रवेशमा रोक, प्रशोधनका क्रममा कामदारले सफा टोपी, माक्स, एप्रोन, जुत्ता तथा पन्जा लगाउनु पर्ने छ ।
निर्देशिका अनुसार दूध संकलन, प्रशोधन र विक्री प्रक्रिया नभएमा १० हजार रुपैयाँ जरिवाना गरिने समेत निर्देशिकामा उल्लेख गरिएको छ ।