
झापा– भारतको विहारसँग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठूलाठूला अपराधका घटनामा प्रायः भारतीय नागरिककै संलग्नता देखिँदै आएको छ ।
सुनसरीमा करीब एक महीनाको अन्तरालमा भएका दुई हत्याका घटनामा भारतीय नम्बर प्लेटका मोटरसाइकल चढेर आएका व्यक्ति भारतीय नै रहेको सार्वजनिक भइसकेको छ । सुनसरीपछि अहिले झापा पनि भारतीयका लागि सुरक्षित अपराधस्थलका रुपमा चिनिन थालेको छ ।
खुला सीमाको फाइदा उठाएर पछिल्लो समय यस क्षेत्रमा एकपछि अर्को गर्दै भइरहेका शृङ्खलाबद्ध जघन्य अपराधका घटनामा भारतीय र सीमा क्षेत्रका नेपालीको समेत मिलोमता देखिन थालेको छ । भारतीयसँग नाता सम्बन्धका साथै आर्थिक लेनदेनसम्म हुने गरेपछि आवतजावत बढ्दै जाने र विस्तारै आपराधिक घटना पनि मिलोमतो मै हुने गरेको घटनाक्रमले देखाएका छन् ।