
काठमाडौं — मोबाइल विकिरणको हानिका सम्बन्धमा सचेत बनाउने फिल्म २.० ले विश्वभरिको बक्सअफिसबाट ७०० करोड भारु कमाएको छ ।
रिलिज भएको १५ दिनमा रजनीकान्त र अक्षय कुमारको फिल्मले यस्तो भव्य कमाइ गरेको हो । फिल्मले एक हजार करोड अर्थात् १० अर्ब भारु लाइफटाइम कमाइ गर्ने अपेक्षा गरिएको छ ।
शंकरको निर्देशनमा बनेको यो फिल्म बनाउन लगभग ६ अर्ब भारु खर्च भएको थियो । फिल्मले लगानी उठाइसकेको छ अनि फाइदाको बाटोमा छ । सात अर्ब भारु कमाउने यो पहिलो तमिल फिल्म भएको बताइएको छ ।
फिल्मको व्यापार विश्लेषण गर्ने मनोबल विजयबालनका अनुसार, २.० ले संसारभरिबाट ७१०.९८ करोड भारु कमाएको छ ।
अनेकौं ट्रेड रिपोर्टहरूले २.० तेस्रो हप्तामा पनि बक्स अफिसमा बलियो प्रदर्शन गर्ने अपेक्षा गरेका छन् । भारतीय बक्स अफिसमा मात्र नभई अन्तर्राष्ट्रिय बक्स अफिसमा यो मजबूती कायम रहने अपेक्षा छ ।
दोस्रो हप्ता सकिएपछि पनि अमेरिकामा लगभग एक सय हलमा फिल्म देखाइएको छ । तेस्रो हप्तामा कुनै पनि भारतीय फिल्मले यति धेरै हल पाउनु एक कीर्तिमानको रूपमा हेरिएको छ ।
एजेन्सी