
काठमाडौं — सोमालियाको दक्षिणी भागमा हिंसा भड्किएपछि कम्तीमा ११ जना मारिएको खबर आएको छ । आतंकवादी संगठन अल–शबाबका पूर्व कमान्डर पक्राउ परेपछि हिंसा भड्किएको हो ।
मुख्तार रोबो नामक ती कमान्डरका समर्थकहरूले हिंसा मच्चाएपछि सैनिक र नागरिकसहित कम्तीमा ११ जना बाइदोमा मारिएका छन् ।
रोबो सुरक्षाका लागि जोखिमका रूपमा रहेको सरकारले आरोप लगाएको छ ।
उनी अर्को हप्ता हुने निर्वाचनमा दक्षिणपश्चिमी राज्यबाट अध्यक्ष बन्न खोज्दैथिए ।
रोबोलाई बिहीवार सबेरै पक्राउ गरेको खबर आएपछि क्षेत्रीय राजधानी बाइदोआका सडकमा विरोध प्रदर्शन भएका थिए ।
रोबो जिहादी संगठन अल शबाबका प्रवक्ता थिए र कुनै समयमा उनी त्यसका उपनेता थिए । गत वर्ष उनी उक्त संगठनबाट बाहिरिएका थिए ।
संघीय सरकारले उनलाई राज्य निर्वाचनमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाएपनि निर्वाचन आयोगले अनुमति दिएको थियो ।
उक्त क्षेत्रमा संघीय सरकारको प्रभावमाथिको सबभन्दा ठूलो जोखिम उनैबाट रहेको पत्रकारहरू बताउँछन् ।
उनले बाइदोआमा मिलिसिया गठन गरिरहेको सरकारले एक वक्तव्य जारी गरेर जनाएको छ ।
बीबीसीबाट