
काठमाडौं– भारतको कर्नाटक राज्यको चामराजनगर जिल्लामा शुक्रबार मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु भएको छ । करिब ७० जनालाई मैसुरको विभिन्न अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जसमध्ये एक दर्जन बिरामीको अवस्था गम्भीर छ ।
सुलावडी गाउँको किच्चुकट्टी मारम्मा मन्दिरमा घटना भएको चाममराजनगरका एसपी धर्मेन्द्र कुमार मीणाले पुष्टि गरेका छन् । प्रसाद नखाएका मारिअप्पा नामका एक व्यक्तिले भने ‘पूजा सकिएपछि प्रसादका रुपमा पुलाउ दिइएको थियो । पुलाउमा गन्ध आइरहेको थियो । जसले त्यो पुलाउ खाए त्यसपछि उनीहरुलाई पेट दुख्न थाल्यो र वाकवाकी शुरु भयो ।
मन्दिरको आसपासमा प्रसाद खाएका काग र अन्य पंक्षी पनि मृत फेला परेका छन् । मुख्यमन्त्री एचडी कुमारस्वामीले फूड प्वाइजनिंगको दुर्भाग्यपूर्ण घटना गाउँमा भएको बताएका छन् । विरामीको उपचारका लागि मंड्या र मैसूरका अधिकारीहरुलाई निर्देशन दिइएको उनले बताएका छन् ।