
चुडामणि उप्रेती ‘गोरे’ ले त्रिभुवन विमानस्थलबाट भित्र्याएपछि हराएको भनिएको ३३ किलो सुन भारतमा फेला परेको सूचना नेपाली सरकारी संयन्त्रले प्राप्त गरेको दाबी गरेका छन् ।
सुनसहित दुई नेपाली पनि पक्राउ परेको सुनप्रकरणको अनुसन्धान गरिरहेको समितिले जानकारी प्राप्त गरेपछि यो प्रकरणको थप अनुसन्धान शुरु भएको छ ।
अधिकारीहरुका अनुसार पक्राउ पेर्नेमा इटहरीका राकेश प्रसाद र हेमकुमार शर्मा रहेका छन् । उनीहरुको सवारीबाट सुन बरामद भएको सूचना आएको समितिले जनाएको छ ।
सुन तस्करी छानविन समितिका संयोजक सह सचिव इश्वरराज पौडेलले सुन भेटिएको जानकारी आएको बताए ।
‘सुन भेटिएको भन्ने सुचना आएको छ, उक्त सुन हामीले अनुसन्धान गरिरहेको ३३ नै हो भन्ने बुझिएको छ’ पौडेलले भने ।
यसो भन्छन् भारतीय सञ्चारमाध्यम
भारतीय सञ्चारमाध्यमहरुका अनुसार अटारी बोर्डरबाट सीमा सुरक्षा अधिकारीहरुले डिसेम्बर ६( मंसिर २० ) गते बिहीबार ३२.६ किलो सुन बरामद गरेका छन् । भारतीय पत्रिकाहिन्दूस्तान टाइम्सका अनुसार स्याउ बोकेको ट्रकमा उक्त सुन फेला परेको थियो ।
‘दिल्लीमा व्यापार गर्ने गरि आएको ट्रकको खानतलासीका क्रममा सुन फेला परेको हो’ प्रहरीलाई उदृत गर्दै पत्रिकाले लेखेको छ ।
एक कार्टुनमा १.२ किलो सुनको विस्केट फेला पारेको भारतीय प्रहरीले जनाएको छ । ११ वटा कार्टुनमा गरि २७ वटा विस्केट फेला परेको र जसको तौल ३२.६ किलो रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार १९९१ पछि यति धेरै परिणाममा भारतमा सुन फेला पारिएको हो ।
उक्त सुन कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान जारी रहेको भारतीय प्रहरीले जनाएको छ ।