
काठमाडौं–काठमाडौं महानगरपालिका३ बसुन्धाराबाट सिन्धुपाल्चोक ठूलोधादिङ १ घर भएका २२ बर्षीय सुकमान गदल समेत ७ जनालाई पाकेटमारेको नगद १० हजार रुपैयाँ र विभिन्न कम्पनीका मोबाइल ६ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले सार्वजनिक यातायातका बसहरूमा जाँच गर्ने क्रममा उक्त सामान सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यता धनुषाको लक्ष्मीनिया गाउँपालिका ६ बगेवापुर्वारी टोलबाट नलकटुवा पेस्तोल १ नाल र त्यसमा लोड भएको गोली १ राउण्ड आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
सोही स्थान बस्ने नथुनी यादबको घरमा शनिबार राति २ जना अपरिचित व्यक्ति प्रवेश गरी बाक्सा खोल्ने क्रममा घरका मान्छेहरुले थाहा पाई होहल्ला गरेपछि उनीहरु भागेर फरार भएका थिए । उनीहरुले भाग्ने क्रममा उक्त हतियार छोडेको हुनसक्ने आशंका गरिएको छ ।
यस्तै बझाङको थलरा गाउँपालिका ६ पिखेत नयाँगाउँ बस्ने ५७ वर्षीय प्यारु मिजारलाई पनि उनकै घरमा लुकाईछिपाई राखेको अवस्थामा फोल्डिङ पेस्तोल १ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सबै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।