गोरखा, २२ फागुन - गोरखास्थित मानव सेवा आश्रमले मानसिक सन्तुलन गुमाएका तथा घरबारविहीन भएर सडकमै बस्न बाध्य तीन जनालाई उद्धार गरेको छ ।
बङ्गलादेश स्थायी घर बताउने बाबुलाल मानवलाई लमजुङको बेँसीसहर नजिकै जङ्गलबाट, भारत उत्तरप्रदेश घर बताउने जङ्गबहादुर कुशहवालाई पाटेचौर गीता मन्दिरबाट र नेपालको तराई भेगकी प्रमिला मानवलाई पश्चिमकालीबाट उद्धार गरी आश्रममा राखिएको हो ।
आश्रमका गोरखास्थित संयोजक नवराज केसीले उद्धार गरिएका तीनै जनालाई डा जयबहादुर खत्रीको परामर्श अनुसार औषधि खुवाइएको जानकारी दिए । गोरखामा गत माघदेखि आश्रम सञ्चालनमा आएको थियो । सदरमुकामको तीनधारेमा घर भाडामा लिएर आश्रम सञ्चालन गरिएको हो । हेटौँडा, चितवनमा पनि आश्रमको शाखा रहेको छ ।
यस्तै मानव सेवा आश्रमको आउँदो चैत ५ गते हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । गोरखामा छैटौँ शाखाको रुपमा आश्रम सञ्चालनमा छ ।
सडकमा बेवारिसे अवस्थामा रहेका बालकदेखि वृद्धसम्मका मानिसलाई उद्धार गरी आश्रममा स्वास्थ्योपचार, भोजनलगायत आवश्यक सेवा, सुविधा दिएर राख्ने र रोग निको भइसकेपछि परिवारको जिम्मा लगाउने गरिन्छ ।