
काठमाडौं — अमेरिकामा एक आमाले कारमा दुई साना छोरीहरूलाई राखेर पार्टी गर्दा ४० वर्षको जेल सजाय भएको छ ।
अमान्डा हकिन्स नामक यी महिलाले अघिल्लो वर्ष आफ्ना दुई साना छोरीहरूलाई कारभित्र राखेकी थिइन् । कारमा तापक्रम बढ्दै गएपछि उकुसमुकुस भएर बालिकाहरूको मृत्यु भयो ।
आमा चाहिँ रातभरि पार्टीमा नाचिरहिन् अनि छोरीहरू चाहिँ तड्पी तड्पी मरे ।
अदालतले हकिन्सलाई गम्भीर अपराधका दोषी मानेर ४० वर्षको कारावास सजाय सुनाएको हो । प्रहरीका अनुसार, बच्चीहरू लगभग १५ घन्टा कारभित्र थुनिएका थिए ।
बन्द कारको तापक्रम ९० डिग्रीभन्दा माथि पुग्यो । सास फेर्नै नसकेर दुवै बच्चीहरू मरे ।
न्यायाधीशले फैसला सुनाउँदै लापरवाही र असंवेदनशील व्यवहारका लागि आमालाई निकै निन्दा गरे । उनले मानिसहरू आफ्ना घरपालुवा जनावरलाई त संवेदनशीलताका साथ हेरचाह गर्छन् भने आफ्नै सन्तानप्रति अलिकति
गम्भीरता देखाएको भए बच्चीहरू बाँच्थे होलान् भने ।
दुईवटा मृत्युका लागि दोषी ठहर गर्दै अदालतले २० २० वर्षको सजाय सुनाए ।
प्रहरीको प्रतिवेदनअनुसार, बच्चीहरू रोएको आवाज सुनेपछि छिमेकीहरूले अमान्डालाई फोन पनि गरेका थिए तर उनी पार्टीमा व्यस्त भइरहिन् ।
एजेन्सी