सप्तरी, २३ फागुन– १५ दिने मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत सोमबार एमालेले तीन स्थानमा आमसभा गर्दै छ ।
गएराती इटहरीमा बास बसेका एमालेका शीर्ष नेतासहितको अभियान टोली आज त्यहाँबाट जुलुससहित इनरुवा पुग्ने कार्यक्रम छ ।
इनरुवा आमसभा हुने र सो आमसभामा शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

सो आमसभापछि भने एमाले सप्तरी प्रवेश गर्नेछ ।
तर, एमालेलाई मधेश विराधीको आरोप लगाउँदै आएकोमधेशी मोर्चाले उसको कार्यक्रम विथोल्ने उद्देश्यले आज सप्तरी बन्दको आह्वान गरेको छ । बन्दकर्ताहरु बिहानैदेखिसडकमा विरोध प्रदर्शन गरिरहेका छन् भने यातायातका साधन, शैक्षिक संस्था, उद्योग कलकारखाना, बजारलगायत सबै ठप्प रहेका छन् ।
बन्दकर्ताहरु सडकमा रहेको र एमालेपनि कार्यक्रमका लागि सप्तरी आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार जिल्ला बाहिरबाट समेत सुरक्षाकर्मी मगाइएको छ । मोर्चा र एमाले कार्यकर्ताबीच हुन सक्ने सम्भावित झडपलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनको भनाई छ ।
एमालेले बन्दको बीच पनि पार्टीको पूर्वनिर्धारित कार्यक्रम भएकाले आजको आमसभा नरोकिने स्पष्ट पारेको छ । यसअघि राजविराज रंगशालामा राखिएको एमाले आमसभा बन्दका कारण गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा सारिएको छ ।
सचिव योगेश भट्टराईले एमालेको पूर्वघोषित कार्यक्रम भएकाले जसरी पनि गरिने र मधेसी मोर्चालाई अवरोध नगर्न आग्रह गरे । यस्तै उनले संयमित रहन पार्टीका पनि कार्यकर्ताहरुलाई आग्रह गरे ।
एमालेले राष्ट्रियताको लागि तथा मधेसबारे पार्टीमा रहेको भ्रम चिर्न १५ दिने अभियान चलाएको बताउँदै आएको छ । आजै एमालेको राजविराजको आमसभापछि कञ्चनपुरमा अर्को आमसभा हुनेछ ।
यसैबीच मोर्चाले समेत राजविराज, भारदह, कन्चन्पूर, रुपनी लगायत क्षेत्रमा कार्यक्रम राखेको सद्भावना पार्टीका केन्द्रीय सदस्य जितेन्द्र चौधरीले बताए ।