१६ असार २०८३, मंगलबार

यसरी भाँडियो सहमति, सभापतिको प्रस्तावमा देउवा समूहकै विरोध !

यसरी भाँडियो सहमति, सभापतिको प्रस्तावमा देउवा समूहकै विरोध !

काठमाडौं – लामो समयको रस्साकस्सीपछि मंगलवार नेपाली कांग्रेसको विधान संशोधनमा सहमति भएको कांग्रेस नेताहरुले दाबी गरेका थिए । मंगलवार पार्टी पदाधिकारी र वरिष्ठ नेताहरुबीच दुई उपसभापति, दुई महामन्त्री र सहमहामन्त्री राख्नेगरी विधान संशोधनमा सहमति भयो । 

बुधवार विहान बसेको बैठकमा विधान संशोधन समितिका संयोजक पूर्णबहादुर खड्काले शीर्ष नेताहरुबीच भएको सहमति वारे जानकारी गराए । सहमति भएको भनिएको प्रस्तावबारे सभापति शेरबहादुर देउवा समूहकै नेताहरुले आपत्ति जनाए । 

वीरबहादुर बलायर, लक्ष्मी परियार, फर्मुल्ला मन्सुर लगायतका नेताहरुले पदाधिकारीमा पनि समावेशी आरक्षणको माग गर्दै प्रस्तावको विरोध गरेपछि केन्द्रीय समितिले निर्णय गर्न सकेन ।
बुधवार बेलुका बसेको केन्द्रीय समिति बैठकमा समेत महेन्द्र यादव, वीरबहादुर बलायर लगायत नेताहरुले यथास्थितीमा प्रस्ताव पारित गर्न नदिने भन्दै विरोध जनाए । त्यसपछि मंगलवार भएको भनिएको सहमति बुधवार एकाएक भाँडिन पुग्यो । 

देउवाको प्रस्ताव, आफ्नो समूहकै विरोध

मंगलवार साँझको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर समूहले ११ जना पदाधिकारी प्रत्यक्ष निर्वाचित गर्ने प्रस्ताव गरेका थिए । एक महिलासहित तीन उपाध्यक्ष, तीन महामन्त्री र पाँच सहमहामन्त्री राख्नेगरी विधान संशोधन गर्न पौडेल समूहले प्रस्ताव गरेको थियो । 

पौडेल, प्रकाशमान सिंह, नवीन्द्रराज जोशी, गगन थापा, बलबहादुर केसी लगायतले समावेशीतालाई समेट्न पाँच सहमहामन्त्रीको प्रस्ताव गरेका थिए । बुधवारको बैठकमा देउवा समूहका नेताहरुले विरोध गरेपछि पौडेलले भनेका थिए ‘हामीले त समावेशी गरौं भनेको हो सभापतिजीले मान्नु भएन ।’

पौडेल समूहले सभापति, तीन उपसभापति, दुई महामन्त्री र तथा पाँच सहमहामन्त्री गरेर ११ पदाधिकारी प्रत्यक्ष निर्वाचित गर्ने प्रस्ताव पेश गरेका थिए । कोषाध्यक्ष र प्रवक्ता मनोनित गरेर उनीहरुलाई पदाधिकारी बैठकमा आमन्त्रण गर्ने पौडेल समूहको प्रस्ताव थियो ।

विधान संशोधन नहुँदा बन्दसत्र अन्यौलमा

२९ मंसिरमा शुरु भइ ३ पुसमा सकिने भनिएको महासमिति दुई दिन लम्बिसकेको छ । विधानमा सहमति नभएका कारण महासमिति बैठक अरु केही दिन लम्बिने सम्भावना छ ।

बुधबार साँझ विधान छाप्नका लागि पठाउने तयारी गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका थिए । तर विधानमा सहमती जुट्न नसक्दा विधान छाप्ने काम प्रभावित भएको छ  । बन्दसत्र लम्बिएसँगै योगम्बर पार्टी प्यालेसमा उद्घाटन भइ शुरु भएको बन्दशत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा सरेको छ । बिहान ९ बजे शुरु हुने भनिएको बैठक अझै शुरु हुन सकेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्