
विराटनगर – मोरङ जिल्लामा राष्ट्रिय खेलकुद परिषद्को खेलकुद प्रशिक्षण विभाग स्पोटस एकेडेमी अफ नेपालले शुरू गरेको १४ वर्षमुनिका खेलाडीको प्रशिक्षणमा खेलाडीबाट अवैध असुली भइरहेको छ ।
सरकारीस्तरबाट निःशुल्क भइरहेको प्रशिक्षणमा खेलाडीबाट विभिन्न बहानामा रकम असुल्ने र बाँडीचुँडी खाने काम भइरहेको खेलाडीले गुनासो गरेका छन् ।
पहिलो चरणको प्रशिक्षण अन्तर्गत १४ वर्षमुनिका बालबालिकाको लागि शुरू भएको प्रशिक्षणमा बालबालिकाबाट नै मनलाग्दी पैसा उठाउन थालिएपछि रकमको खेलाडीभित्रै शंका उब्जिएको छ । मोरङमा १४ वर्षमुनिको क्रिकेट, फुटबल र टेवलटेनिस खेलको प्रशिक्षण भइरहेको छ ।
फुटबलको प्रशिक्षण विराटनगर र डाँगीहाटमा भइरहेको छ । विराटनगरको प्रशिक्षणमा ८० जना र डाँगीहाटमा ५५ जना सहभागी छन् । विराटनगरमा भएको क्रिकेट प्रशिक्षणमा ५५ जना सहभागी छन् ।
टेवुलटेनिसको १८ जनाको पनि प्रशिक्षण भइरहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रशिक्षणको लागि आवश्यक पर्ने सबै सामग्री राष्ट्रिय खेलकुद परिषद्को व्यवस्थापनमा भएपनि प्रशिक्षार्थी खेलाडीबाट मासिक ५ सय रुपैयाँ उठाएर जिल्ला खेलकुद विकास समितिले विवादमा आउने काम गरेको छ ।
प्रशिक्षण १० देखि १४ वर्ष उमेर समूहका बालबालिका लक्षित छ । फुटबल, टेवलटेनिस र क्रिकेटमा २ सय ८ जनाले हप्तामा २ दिन शुक्रवार र शनिवार प्रशिक्षण लिँदै आएका छन् । प्रशिक्षार्थी खेलाडीबाट मासिक ५ सय रुपैयाँका दरले मासिक १ लाख ४ हजार रुपैयाँ संकलन गरिएको छ । तर अवैध रुपमा संकलित रकम कहाँ गयो भन्ने स्पष्ट जानकारी समेत दिने गरिएको छैन ।
विगत ६ महिनाको अवधिमा उठाइएको ६ लाख २४ हजार रुपैयाँको हिसाब सार्वजनिक नभएको नाम उल्लेख नगर्ने शर्तमा एक खेल प्रशिक्षकले बताए । ‘प्रशिक्षार्थीबाट पैसा लिन नपाउने भएपनि किन पैसा लिइएको हो भन्ने मलाई थाहा भएन,’ उनले भने ।

असारदेखि शुरू प्रशिक्षण ५२ हप्तामा पूरा गर्नुपर्ने व्यवस्था अनुसार राखेपले प्रशिक्षणको आयोजना गरेको हो । पुस महिनासम्म प्रशिक्षण लिएका पहिलो चरणका प्रशिक्षार्थीको विवरण तथा तथ्यांक राखेपमा पठाउनुपर्नेमा हालसम्म त्यो तथ्यांक पठाइएको छैन । विवरण पठाएपछि मात्र खेलाडी छनौट हुने गरेका छन् ।
अवैध असुलीबारे जिल्ला खेलकुद विकास समितिका सदस्यसचिव देवराज कटुवालले प्रतिविद्यार्थी ५ सय लिएको स्वीकार गरेका छन् । प्रशिक्षकलाई दिन रकम उठाइएको उनले बताए ।
राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षक पारस चौधरीसहित ६ जनाले प्रशिक्षण दिएका छन् । प्रशिक्षकले प्रशिक्षार्थीबाट लिएको ५ सय रुपैयाँ बाँडीचुँडी खाने गरेका छन् । संकलित रकमबाट केही रकम प्रशासनका कर्मचारीसम्म पनि पुग्ने गरेको स्रोतको दाबी छ ।
सहायक प्रशिक्षक पारस चौधरीले खेलाडीबाट उठाइएको रकम ४० हजारजति उठ्ने गरेकोमा सबै प्रशिक्षकले बाँडेर लिने गरेको बताए । एकेडेमीले उपलब्ध गराएको बलमध्ये १२ वटा मात्र प्राप्त गरेकाले बल समेत त्यही रकमबाट खरिद गरेको उनले बताए । प्रशिक्षकलाई दिएर बाँकी रहेको पैसा फुटवल किनेको उनले बताए । तर खेल सामग्री राखेपबाटै पठाइएको दाबी गरिएको छ ।
‘पारस चौधरी एक्लैले यतिका धेरैलाई प्रशिक्षण गर्न सक्दैन,’ उनले भने, ‘उनीहरूबाट उठाएको रकमबाट थप प्रशिक्षक राखिएको हो ।’ हाल प्रशिक्षण दिनेमा फुटवल प्रशिक्षक अरुण लामा, पारस चौधरी, करण कार्की, मदन काफ्ले, विनेश बस्नेत, मनिष तिम्सिना र मधुसुदन खनाल छन् ।