
शाहरुख खानको बहुप्रतीक्षित चलचित्र जिरो आज सार्वजनिक भएको छ । प्रस्तुत छ फिल्मको समीक्षा :
बउआ सिंह (शाहरुख खान) मेरठमा बस्ने होचा मानिस हुन् । उनी असल व्यक्ति हुन् । आफिया (अनुष्का शर्मा) नामक नासा वैज्ञानिकसँग उनको प्रेम हुन्छ । आफिया सेरेब्रल पाल्सी नामक रोगबाट पीडित छिन् । दुवैको प्रेमकथा भारतबाट अमेरिका पुग्छ अनि त्यहाँबाट मंगलग्रह पुग्छ । प्रेमको यात्रामा बउआ र आफियाले निकै अप्ठ्यारा स्थिति सामना गर्नुपर्ने हुन्छ ।
फिल्मका लागि गतिलो अवधारणा भएर मात्र पुग्दैन । फिल्मको निर्माण पनि कुशलतापूर्वक गर्नुपर्ने हुन्छ । तर सबै कथाले राम्रो ट्रीटमेन्ट पाउँछन् नै भन्ने हुँदैन । जिरोको कथा एकदमै रोचक छ र अवधारणा पनि प्रेरणादायक छ ।
मेरठदेखि मंगलसम्मको यो कथालाई विज्ञान, ग्रह यात्रा र अविश्वसनीय प्रेम जस्ता विचारका प्रस्तुत गरिएको छ ।
तर यो सबै चक्करमा फिल्म चुक्न पुगेको छ । एकै ठाउँमा अनेकौं भाव र विचारलाई कोच्न खोज्दा जिरोले कुनै भावलाई पनि न्याय गर्न सकेको छैन । केही दृश्य दमदार छन् तर केही दृश्य भने खत्तमै छन् ।
कथा मेरठमा शुरू हुन्छ जहाँ बउआ सिंह आफ्ना पिता (तिग्मांशु धुलिया) को सबै पैसा बलिउड सुपरस्टार बबिता कुमारी (कट्रिना कैफ) मा उडाउँछ । बउआको यस्तो हर्कत देखेर पिता रिसाउँछन् । तर बउआले अत्यन्तै प्रतिभाशाली वैज्ञानिक आफियालाई भेटेपछि सबै कुरा परिवर्तन हुन्छ ।
बउआ होचा छन् र आफिया सेरेब्रल पाल्सीबाट पीडित छिन् । दुवैजनाको शारीरिक कमजोरीले सम्बन्धको आधार बनाउँछ । दुवैको व्यक्तित्वमा आकाश जमीनको फरक छ र यी भिन्नता फिल्मको कथाको बलियो आधार हो ।
यसैबीच बलिउड अभिनेत्री बबिता कुमारी फेरि बउआ र आफियाको जिन्दगीमा आउँछिन् र कथामा नाटकीय मोड आउँछ ।
राम्रो कुरा के भने फिल्मका पात्रहरू आफ्नो शारीरिक चुनौतीलाई आफ्नो स्वभाव र सोचमा हावी हुन दिँदैनन् । शाहरुख रोमान्सका बादशाह हुन् र उनले फिल्ममा आफ्नो रोमान्टिक भूमिकालाई पर्फेक्ट रूपमा निर्वाह गरेका छन् । होचा पात्रका रूपमा उनी जमेका छन् ।
कट्रिनाको भूमिका सानो छ तर उनले पनि छाप भने छोड्छिन् । अनुष्काको पात्रमा भने धेरै सम्भावना थिए र त्यसलाई पनि शानदार बनाउन सकिन्थ्यो । उनले सेरेब्रल पाल्सी भएको पात्रलाई खासै न्याय गर्न सकेको देखिँदैन ।
फिल्ममा शाहरुख र मोहम्मद जीशान अयुबको कमेडी दृश्यहरू रमाइला छन् । फिल्मको गीत मेरे नाम तूमा शाहरुखले गजबको डान्स गरेर ज्यान भरेका छन् ।
समग्रमा भन्नुपर्दा फिल्म औसत छ । मनोरञ्जन लिने उद्देश्यले फिल्म हेर्न जानुभयो भने चाहिँ निराशा मात्र हात लाग्छ ।
नवभारत टाइम्समा प्रकाशित रचित गुप्ताको समीक्षाको भावानुवाद
फिल्म : जिरो
कलाकार : शाहरुख खान, अनुष्का शर्मा, कट्रिना कैफ, तिग्मांशु धुलिया
निर्देशक : आनन्द एल राय
विधा : रोमान्स
अवधि : २ घन्टा ४४ मिनेट
रेटिङ : ३/५