
काठमाडौं — निजी जीवनलाई सार्वजनिक चर्चाबाट परै राख्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विवाह गर्न सक्ने संकेत दिएका छन् ।
बिहीवारको प्रेस सम्मेललनमा पुटिनले अन्तर्राष्ट्रिय मुद्दा र अर्थव्यवस्थाका विषयमा उत्तर दिइरहेका थिए । त्यतिखेर एक पत्रकारले पुटिनलाई आफ्नो मनको रहस्य उजागर गर्न भने ।
यसमा पुटिनले मुस्काउँदै भने, ‘इज्जतिलो व्यक्ति भएकाले मैले बिहे गर्नुपर्छ ।’ तर कससँग बिहे गर्ने हो त्यो चाहिँ उनले बताएनन् ।
छैसट्ठी वर्षीय पुटिनले सन् १९८३ मा भाषाविद् ल्युडमिला पुटिनासँग बिहे गरेका थिए । तीस वर्षसम्म सम्बन्ध कायम राखेपछि सन् २०१३ मा उनीहरूको डिभोर्स भयो ।
उनीहरूका दुई छोरी कट्रिना र मारिया राजनीतिबाट टाढै छन् । पुटिन आफैंले पनि पारिवारिक जीवनको उल्लेख गर्ने गरेका छैनन् ।
ल्युडमिलासँग पारपाचुकेपछि पुटिनको सम्बन्ध अनेकौं महिला रहेको खबर आएका थिए । एक रुसी पत्रिकाले पुटिन पूर्व ओलम्पिक जिम्नास्ट अलिना कबाएभासँगको सम्बन्धमा रहेको लेखेको थियो । तर पुटिनले यसलाई अस्वीकार गरे
।
सन् २०१६ मा रोयटर्स समाचार संस्थाले पुटिनका एक निकटवर्ती व्यापारीले अलिनाको नाममा अनेकौं जग्गाजमीन ट्रान्सफर गरिएको खबर दिएको थियो ।
एजेन्सी