०७ असार २०८३, आइतबार

आईएसविरुद्ध लड्ने गठबन्धनका अमेरिकी दूतले दिए राजीनामा

आईएसविरुद्ध लड्ने गठबन्धनका अमेरिकी दूतले दिए राजीनामा

काठमाडौं — आतंकवादी संगठन इस्लामिक स्टेटविरुद्ध अन्तर्राष्ट्रिय गठबन्धनका अमेरिकी दूत ब्रेट म्याकगर्कले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने निर्णय लिएपछि त्यसको विरोधमा म्याकगर्कले राजीनामा दिएका हुन् । 

यो राजीनामा ट्रम्पका लागि झड्का मानिएको छ किनकि हालै रक्षामन्त्री जिम म्याट्टिसले समेत ट्रम्पको परराष्ट्रनीतिमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् । 

राजीनामा पत्रमा म्याट्टिसले पनि सिरियामा सैनिक फिर्ता लिने कदममा आपत्ति जनाएका थिए । 

सिरियामा इस्लामिक स्टेट हारिसक्यो भन्नु हतारो हुने र अमेरिकी सैनिकलाई फिर्ता बोलाउनु मूर्खतापूर्ण कदम हुने म्याकगर्कको भनाइ छ । ‘आतंकवादीहरू भागेका मात्र हुन्, परास्त भइसकेका छैनन् र अमेरिकी सैनिक फिर्ता
बोलाउँदा इस्लामिक स्टेटले फेरि टाउको उठाउँछ,’ म्याकगर्कले राजीनामा पत्रमा लेखे । 

उनले आईएसविरुद्धको अभियानमा प्राप्त सफलताको उल्लेख गर्दै काम अझै नसकिएको बताए । 

तर ट्रम्पले म्याकगर्कको राजीनामालाई खासै महत्त्व दिएनन् । उनले ट्वीट गरे, ‘म उनलाई चिन्दिनँ र यो खासै ठूलो कुरा हैन । म्याकगर्क आफैं जान चाहन्थे ।’

ट्रम्पले सिरियाबाट सैन्य फिर्तीको फिर्तीको प्रतिरक्षा पनि गरे ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्