०१ असार २०८३, सोमबार

स्थानीय सरकारहरुले गति लिन थाले- ग्रामीण भेगमा विकासे लहर

स्थानीय सरकारहरुले गति लिन थाले- ग्रामीण भेगमा विकासे लहर

धनगढी-  ग्रामीण भेगमा विकासे गतिविधिले तीव्रता पाएको छ । तीनै तहको सरकारबाट पनि ग्रामीण भेगको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, विद्युतलगायत भौतिक संरचनाको विकास प्रमुख प्राथमिकतामा पर्न थालेपछि तीव्रता पाएको हो । आजभोलि कतै सडक चौडा पार्ने, ग्राबेल गर्ने, भवन निर्माण, विद्युतको पोल गाड्नेलगायतको कार्यले तीव्रता पाएको छ भने कतै पूल पुलेसो, तटबन्ध सर्वेको कार्यले गति लिएको हो ।

कैलालीको कैलारी गाउँपालिकामा मात्रै झण्डै डेढ सय विकास योजना एकैसाथ सञ्चालन भइरहेक छन् ।  गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले गाउँपालिकाको चालु वर्षको करिब ३ सय योजना मध्ये ५० वटा योजनाको काम पहिलो चौमासिकमै सम्पन्न भएको जानकारी दिए ।

डेढ सय योजनाको काम संगै जारी रहेको बताउँदै उनले बाँकी योजना कार्यान्वयनको प्रक्रियामा रहेको अध्यक्ष चौधरीले बताए । त्यस्तै, ३ वटा संघीय सरकार, ३ वटा प्रदेश सरकार र एक वटा गाउँपालिकाकै बजेटबाट विभिन्न नदीहरुमा झोलुंगे पूलको काम भैरहेको पनि जनाइएको छ ।

जिल्ला समन्वय समिति कैलालीका सभापति सूर्यबहादुृर थापाले जिल्लाभरी विकासे गतिविधिले तीव्रता पाएको बताए । उनले जिल्लाका ७५ प्रतिशत सडकको मर्मत सम्भार गरी ग्राबेल गर्ने काम भएको जनाए । त्यस्तै, जिल्लाका २५ प्रतिशत वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको र १० प्रतिशत ढल निकासको कार्य भैसकेको बताउँदै उनले ग्रामीण सडक कालोपत्रेको काम पनि सुरु गरिएको जानकारी दिए ।

जिल्लामा ठूला आयोजनाको काम पनि जारी रहेको जनाइएको छ । रानीजमरा कुलरिया सिचाइ आयोजना, हुलाकी सडक, मोहना अत्तरिया ६ लेन सडकलगायत ठूला आयोजनाको कामले पनि तिब्रता पाएको सभापति थापाको दाबी छ । ग्रामीण भेगमा विकास गतिविधि बढेपछि स्थानीयबासीहरुलाई हर्षित बनाउनुको साथै उनीहरुको दिनचार्यलाई पनि व्यस्त बनाएको छ ।

कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीका भल्मन्सा गंगाराम महतोले गाउँभरी सडक चौडा पार्ने काम जारी रहेको सुनाए । गाउँपालिकाबाट सडक ग्राबेलको योजना परेपछि स्थानीयले पुरानो साँगुरो सडकलाई ११ मिटर चौडा बनाएर ग्राबेलको कार्यमा जुटेको भलमन्सा महतोले जनाए । यसैबीच सडक चौडा बनाउन थालेपछि स्थानीयको घर टहरा सडकमा परेको छ । जुन टहरा हटाउन तथा सार्नमा स्थानीयलाई हम्मेहम्मे भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्