११ असार २०८३, बिहीबार

यूएईमा राम्रो तलब पाउन मुश्किल, तेलको मूल्य घटेपछि अर्थतन्त्र डामाडोल

यूएईमा राम्रो तलब पाउन मुश्किल, तेलको मूल्य घटेपछि अर्थतन्त्र डामाडोल

काठमाडौं — संयुक्त अरब अमिरात अर्थात् यूएईमा दुई वर्ष बसेपछि एलिसन सिमन्ड्स बेलायत फर्केकी छन् । 

कम्युनिकेसन कन्सल्टेन्टका रूपमा उनले अनेकौंचोटि खाडी मुलुकहरूको भ्रमण गरेकी थिइन् । सन् २०१६ मा उनी स्थायी रूपमा दुबई शिफ्ट भइन् र त्यहीँ बस्ने अनि काम गर्ने निर्णय लिइन् । 

व्यक्तिगत र व्यावसायिक सञ्जाल भए पनि सिमन्ड्सले राम्रो जागिर पाउन १२ महिनाभन्दा बढी समय खर्च गरिन् । त्यो जागिरको पनि जम्मा एक वर्षको सम्झौता थियो । 

तलब त उनले बेलायतमा भन्दा बढी पाउँथिन् किनकि दुबईमा कर तिर्नुपर्दैनथियो । तर कम अवधिको सम्झौता भएकाले रोजगारी सुरक्षित थिएन । 

उनी कार र घरका लागि महंगो भाडा तिरिरहेकी थिइन् । उनले वार्षिक लीज गरेको भए खर्ब कम पर्थ्यो । 

पैंतालीस वर्षीया सिमन्ड्सले सम्झौता सकिनुभन्दा आठ हप्ताअघि जागिर खोज्न थालिन् । उनी भन्छिन्, ‘राम्रो तलब पाइएको थिएन, त्यसैले म घर फर्र्कें ।’

उनी भन्छिन्, ‘म भविष्यमा फेरि त्यहाँ जान त सक्छु तर अहिले त्यहाँ जाने सही समय हैन । धेरै मानिस त्यहाँबाट हिँडिरहेका छन् । अनुभवी र योग्य मानिस नयाँ जागिरका लागि भौंतारिइरहेका छन् ।’

तेल बेचेर धनी भएको यूएईमा सबै तहमा फरक फरक देशका लाखौं मानिस काम गर्छन् । उनीहरूलाई कर तिर्नु नपर्ने तलबको लोभ छ । 

विदेशीहरू मुख्यतया अबुधाबी र दुबईका प्रमुख व्यावसायिक केन्द्रमा बस्छन् । दुबई पर्यटकहरूका लागि पनि प्रिय गन्तव्य हो । समुद्र किनारमा बनेका विलासी रिजोर्ट, गगनचुम्बी भवन र शपिङ मल हेर्न मानिसहरू त्यहाँ पुग्छन् । 
विदेशीहरूले यूएई बसाउन र जनसंख्या बढाउनमा योगदान गरेका हुन् । सन् १९८० मा त्यहाँ जम्मा १० लाख मानिस थिए । अहिले त्यहाँको जनसंख्या ९५ लाख छ । 

व्यावसायिक कामदारले धेरै पैसा कमाउन सक्ने ठाउँका रूपमा यूएईलाई वर्षौंसम्म चिनियो । तलबको प्याकेजमा घर, सन्तानको पढाइ, उपचार खर्च, कार र आउनेजाने खर्च समेत संलग्न हुन्थ्यो । 

बचत गर्नेहरूले बचत गर्थे अनि विलासी जिन्दगी बिताउनेहरूले मन परेको जीवनशैली अपनाउन पाउँथे । 

तेलको मूल्य घटेपछि भने खाडीका अन्य देश जस्तै यूएईको अर्थव्यवस्था पनि दबाबमा परेको छ । घरजग्गा कारोबारमा मन्दी आयो अनि तलब घट्न थाल्यो । 

लन्डनमा इकोनोमिक इन्टेलिजेन्स युनिटकी विश्लेषक करेन उजिएल भन्छिन्, ‘सन् २०१८ मा तेलको मूल्य बढेपनि आर्थिक विकास दर कमै रह्यो ।’

तेल निर्यातक मुलुकहरूको संगठन ओपेक देशहरूमा तेल उत्पादनमा कटौती, कतारसँग कूटनीतिक सम्बन्धमा समस्या र इरानमा अमेरिकी प्रतिबन्ध यसका केही कारण भएको उनको भनाइ छ । यी सबै कारणले खाडी मुलुकको
व्यापारमा असर प–यो, विशेषगरी दुबईमा । 

तेलको मूल्य घट्दा राजस्वमा नोक्सानी भएपछि भरपाइका लागि सरकारले जनवरीमा ५ प्रतिशत भ्याट लगायो । 

उजियेलका अनुसार, यसबाट यूएई एक महंगो व्यापारिक केन्द्र बनेको धारणा विकसित भयो । कर लगाउँदा खाना र घरका सामान महंगा भए र तिनको माग घट्यो । 

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार, सन् २०१९ मा यूएईको कुल गार्हस्थ्य उत्पादन विकास दर ३.७ प्रतिशत रहनेछ जसलाई राम्रो विकास दर भन्नुपर्छ । 

तर स्थानीय बैंक एमिरेट्स एनबीडीले नोभेम्बर महिनामा दुबई इकोनोमिक ट्य्राकर इन्डेक्स निकाल्दा निजी क्षेत्रको विकास दर साढे दुई वर्षमा सबभन्दा कम रहेको पायो । रोजगारी सूचकांक पनि लगातार दोस्रो महिना तल
खस्किएको छ । 

वाल स्ट्रीट जर्नलमा हालै छापिएको एक लेखअनुसार, दुबईमा ह्वाइट कलर मन्दी छाएको छ । 

तर एक स्थानीय अर्थशास्त्री चाहिँ मन्दीका बारेमा बढी नै हौवा पिटिएको बताउँछन् । विकास दरका सम्बन्धमा आफू सतर्क आशावादी रहेको अनि अर्थव्यवस्था परिपक्व भएका कारण सुधारको युग चलिरहेको उनको भनाइ छ । 

मध्यपूर्वमा जागिर खानेहरूलाई सहयोग गर्ने कम्पनी हेयजका व्यवस्थापकीय निर्देशक क्रिस ग्रीभ्स यतिखेर कम्पनीहरू खर्च बचाउनेतिर लागेको बताउँछन् । 

हेयजले निकालेको सन् २०१८ को तलब तथा रोजगारी प्रतिवेदनअनुसार, उनीहरूको सर्वेक्षणमा संलग्न एक तिहाइ कम्पनीहरूले छँटनी गरेको पाइयो । आधाभन्दा बढी कम्पनीहरूले तलब नबढाउने बताए । 

ग्रीभ्स भन्छन्, ‘केही कम्पनीहरू छँटनी गर्नु नपरोस् भनी तलब घटाइरहेका छन् । कम्पनीहरू नयाँ निवेदकलाई उनीहरूको तलबभन्दा कम तलब अफर गरिरहेका छन् र उनीहरू मानिरहेका छन् पनि ।’ 

अहिलेको मन्दीपछि सरकारले १३ अर्ब डलरको प्रोत्साहन प्याकेजको घोषणा गरेको छ । 

केही व्यापारिक क्षेत्रहरूमा शत प्रतिशत विदेशी स्वामित्वको स्वीकृति दिइएको छ । प्रवेशाज्ञा कानूनलाई सहज बनाइएको छ । व्यापार दर्ता शुल्क र अन्य प्रशासनिक खर्च पनि कम गरिँदैछ । 

यी उपायहरूबाट यूएई व्यापारीहरूका लागि आकर्षक स्थान बन्नसक्छ । कम्पनीहरूले नयाँ भर्ती पनि गर्ने अनि त्यहाँको रोजगारी बजार पहिलेको जस्तै प्रतिस्पर्धात्मक पनि हुने आशा गरिएको छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्