
दुलाहाले विवाह मण्डपमा बस्नु पूर्व दाइजो मागे र नदिए विवाह नगर्ने बताए भने के होला ? युवतीका बाबुआमाले स्विकार गर्नु भन्दा अर्को विकल्प हुन्न होला । तर भारतकी रेणुले यस्तो काम गरेकी छिन् जसका कारण उनी पछिल्ला केही दिन यता चर्चामा छिन् ।
स्नातक गरेकी रेणुले दाइजोमा दुलाहाले विवाह हुने केही क्षण अघि कार नदिए विहे नगर्ने निर्णय गरे तर उनले ती लोभी र माग्ने दुलाहासँग विवाह नगर्ने निर्णय गरिन् । रेणु कासनियाँको विवाह हरियाणा निवासी राजवीर कन्स्वाका छोरा पवन कन्स्वासँग फेब्रुअरी १९ तारिखमा विवाह हुने कार्यक्रम तय भएको थियो । १८ फेब्रुअरीको राती पवनले फोनमा रेणुसँग विवाहका लागि ११ लाख भारु नगद र एक सुविधासम्पन्न गाडी चाहिने बताएका थिए ।
त्यस रात रेणुले पवनको कुरा ठट्यौलीमा लिइन् । विवाह हुने दिनको बिहान पवनले पुनः नगद र कार ससुरालीले उपहारस्वरुप दिनुपर्ने शर्त राखी यसो नभए जन्ती नल्याउने धम्की पनि दिए ।
रेणुले फोनमा भएको कुराको जानकारी आफ्ना बुवा राजेन्द्र कासनियां र आमालाई दिइन् । परिवारले सम्बन्ध मिलाइदिने बिचौलीयालाई सम्पर्क गरेर यसबारे जानकारी दिए ।
बिचौलीयाले पवन र उनका बुवालाई सम्पर्क गरेर पंचायत बोलाइन् र यसो गर्दा गर्दै १९ फेब्रुअरीको रात बित्यो ।
साइतको हिसाबले अब जन्ती बेहुलीको घरमा आउने बेला भइसकेको थियो । केटापट्टीकाले आफ्नो माग नछोडेपछि रेणुले एक साहसिक निर्णय लिइन् । उनले पवनसँग नै विवाह गर्न अस्विकार गरिदिइन् ।
बेहुली रेणुको घर बिस्तारै पाहुनाहरु आउन सुरु गरिसकेका थिए । रेणुको विवाहमा पुलिस कन्स्टेबल कपिल घिंटाला पनि आफ्ना इन्जिनियर छोरा राकेशसँग विवाहमा सहभागी हुन आएका थिए ।
विवाहको घरको सबै स्थिती देखेर राकेशले रेणुसँग विवाहको प्रस्ताव राखे । कुरा रेणुसम्म पुग्यो । दुबैको त्यहाँ नै भेट भयो । पाँच मिनेटको औपचारिक भेटघाटपछि दुबै विवाहका लागि राजी भए । राती दुई बजे राकेश बाजा गाजासहित रेणुको घरमा जन्तीसहित पुगे ।
बेहुलीका पिता राजेन्द्रले आफ्नी छोरीले यति ठूलो साहसिक कदम उठाउने बारे कहिले पनि नसोचेको बताए ।
बेहुला राकेशले आफ्नी श्रीमतीको विचारबाट प्रभावित भएका कारण उनलाई विवाहको प्रस्ताव गरेको बताए ।
उनले भने, ‘हामी दुबैको विचार मिल्छ । मलाई दाइजो होइन, एक राम्रो विचार भएकी जीवनसाथी चाहिएको थियो । मेरो इच्छा रेणुको रुपमा पूरा भएको छ ।’ रेणुको यो साहसी कदमको भारतमा प्रशंसा भएको थियो ।